काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेलो हेल्थ’ सेवा सुरु गरेको छ । आमनागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको मन्त्रीस्तरीय निर्णयपछि हेलो हेल्थ स्थापना गरिएको हो । निर्णयपछि सामाजिक सञ्चाल फेसबुकमा स्वास्थ्य मन्त्री पौडेलले लेखेका छन्,
“नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ,” मन्त्री पौडेलले भने, “तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।”
अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासा टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल र हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सकिनेछ ।
यस्तै, भाइबर र ह्वाट्सएपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।