रसिया । रसियाका तर्फबाट युक्रेनसँग लडिरहेका १ सय जना उत्तर कोरियाली सैनिकको मृत्यु भएको दावी दक्षिण कोरियाले गरेको छ ।
उत्तर कोरियाले आफ्ना १० हजार सैनिक रसिया पठाएको र ती सैनिकलाई रसियाले युक्रेनसँगको युद्धमा प्रयोग गरिरहेको दावी दक्षिण कोरियाकासाथै अमेरिका र बेलायतले गर्दै आएका छन् ।
मृत्यु हुनेमा उच्च सैन्य अधिकारीसमेत रहेको बताइएको छ । कहिल्यैपनि युद्ध नगरेका, उत्तर कोरियाली सैनिकलाई रसियामा केही साताको तालिमपछि युद्धमा खटाइएको थियो ।
युक्रेनले रसियाको कुर्स्क क्षेत्रमा गरेको आक्रमण र कब्जाका क्रममा ती सैनिक मारिएका हुन् ।
गत शनिवार युक्रेनका राष्ट्रपति भ्लोदोमीर जेलेन्स्कीले समेत रसियाको कुर्स्क क्षेत्रमा उत्तरकोरियाली सैनिक मारिएको बताएका थिए ।
रसिया र उत्तर कोरियादुबैले अहिलेसम्म युक्रेनमा उत्तर कोरियाली सैनिक खटाइएको बारेमा सार्वजनिक गरेका छैनन् ।