कास्की । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्धको जिल्ला अदालत कास्कीमा अभियोग पत्र पेस गरिएको छ ।
सरकारी वकिल कार्यालय कास्कीले प्रमाणपत्र र मिसिलसहितको अभियोग पत्र अदालतमा पेस गरेको हो ।
जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले पेस गरेको साढे चार सय पेज लामो आरोपपत्र कास्की अदालतले रुजु गर्ने काम गरिरहेको छ । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रुपैयाँ बिगो असुल्नुपर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।
लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
प्रहरीले सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो कायम गर्नुपर्ने राय अनुसन्धान प्रतिवेदनमा उल्लेख गरेको छ ।