बुटवल । सिद्ध बाबा सुरुङ मार्ग आयोजना अन्तर्गत तीन वटै बाइपास सुरुङको ‘ब्रेक थ्रु’ सम्पन्न भएको छ । सिद्धार्थ राजमार्गमा निर्माणाधीन सिद्ध बाबा सुरुङ मार्ग अन्तर्गत ‘बाइपास २’ को ब्रेक थ्रु सम्पन्न भएसँगै यस आयोजना अन्तर्गत रहेका तीन वटै बाइपास सुरुङ छिचोलिएका हुन । बाइपास दोस्रो १ सय ६१ मिटर लम्बाइको छ । यसअघि बाइपास तेस्रोको २६ भदौ र बाइपास प्रथमको ४ असोजमा ब्रेक थ्रु भएको थियो ।
यी दुई बाइपास क्रमशः १ सय ३० मिटर र १ सय ५१ मिटर लम्बाइका छन् । सिद्ध बाबा सुरुङको मुख्य सुरुङ भने १ हजार १ सय २६ मिटर लम्बाइको छ । जसको पछिल्लो विवरण अनुसार ८ सय मिटरभन्दा बढी खन्ने काम सम्पन्न भइसकेको छ । सुरुङमा लाइनिङको काम भने अझै सुरु भइसकेको छैन । सुरुङ खन्न एक वर्ष अगाडिदेखि सुरु भएको थियो । यो आयोजना निर्माण जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको छ । यहाँ टनेलसहित दोहोरो लेन, स्लोप प्रोटेक्सन सहित २।५९ किलोमिटर क्षेत्रमा विभिन्न भौतिक संरचना बनिरहेका छन् ।
पहिलो बाइपास माथिल्लो सिद्ध बाबा मन्दिरतर्फको र तेस्रो बाइपास दोभान ड्याम साइडतर्फको हो । मुख्य सुरुङको दुवैतर्फबाट दैनिक विस्फोटसहित खन्ने काम जारी रहेको छ । दुर्घटनाको उच्च जोखिमयुक्त पाल्पाको तिनाउ गाउँपालिका–३ दोभानमा सुरुङ मार्ग बनिरहेको छ । यो सुरुङ मार्गलाई सरकारले राष्ट्रिय गौरवको आयोजनाका रूपमा लिएर काम सुरु गरेको हो । चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाखमा सुरुङ मार्गको ठेक्का लिएको छ । अहिले दैनिक डेढ सयदेखि दुई सय जना कामदारले काम गरिरहेका आयोजनाले जनाएको छ । योजनाअन्तर्गत बुटवलतर्फको चिडिया खोलाबाट ९ सय १० मिटर र पाल्पातर्फ ५ सय ६० मिटर दुई लेनमा सडक सुधारको काम पनि थालिने आयोजनाले जनाएको छ । मुख्य सुरुङको ब्रेक थ्रु पछि ढलान र सडक बनाउन सुरु गरिने छ ।