२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

सहकारी ठगी गर्ने कसैलाई छाड्दैनौं : मन्त्री गुरुङ



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने दावा गरेका छन् ।

काठमाडौंमा तमू (गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितगरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा बनेको प्रतिवेदनमा रहेका सहकारी ठगी आरोपित सबैलाई अनुसन्धानको दायरामा ल्याउने बताएका छन् ।

उनका अनुसार प्रतिवेदनमा उल्लेख भएका व्यक्ति एकैचोटी कारवाहीमा ल्याउन सक्दैनौँ । “पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ”, उनले भने, “सहकारी ठगी गर्नेहरु उम्किन्छु भन्ने नसोचे हुन्छ ।”

मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धानको प्रक्रियामा रहेका रास्वपाका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेको भन्दै यो लोकतान्त्रिक पद्धतिविपरीत कार्य भएको सुनाए । मन्त्री गुरुङले सहकारी ठगीको विषयमा कसैलाई पनि छोड्न नमिल्ने पटक पटक दोहोर्‍याएका छन् । मन्त्री गुरुङले भने, “सहकारी ठगी गर्ने चाहे त्यो कांग्रेस, एमाले, माओवादी होस् या जोसुकै हामी छोड्दैनौँ ।”

कार्यक्रममा उनले रास्वपा पार्टीलाई मात्रै टार्गेट गर्‍यो सरकारले भन्नु गलत बुझाइ रहेकोमा प्रस्ट पारे । यस्तो होहल्लाले सहकारी ठगीको छानबिन र अनुसन्धानलाई ओझेलमा पार्न गरिएको चलखेल रहेको सुनाए । “रास्वपाले के बुझ्नु पर्‍यो भने आफ्नो नेता छानबिनको दायरामा छन् भने छानबिन हुन दिनुपर्‍यो”, मन्त्री गुरुङले भने, “अदालतको नतिजा पर्खनुपर्छ । सहकारीको छानबिनको दायरामा परेका रवि लामिछानेलाई छाडिनुपर्छ भन्ने अप्रजातान्त्रिक र असंवैधानिक कुरा हो ।”

प्रकाशित मिति : १० पुस २०८१, बुधबार  ५ : ३१ बजे