काठमाडौँ । गृहमन्त्री रमेश लेखकले विपद् जोखिम न्यूनीकरणका लागि निर्माण भइसकेका संरचनालाई बलियो बनाउन जरूरी रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संस्थागत क्षमता तथा कार्य जिम्मेवारीलाई प्रभावकारी बनाउने उपायहरूबारेको छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।
उनले संघदेखि स्थानीय तहसम्मका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरूरी रहेको बताए।
उनले जोखिमको पहिचान गरेर आवश्यक संरचना निर्माण गर्न जरूरी रहेको बताए।
उनले नेपाल विपद् जोखिमको पनि उच्च जोखिममा रहेको उल्लेख गर्दै सबै मिलेर विपद् जोखिम न्यूनीकरणका लागि पहल गर्न आवश्यक रहेको बताए।
उनले भूगोलको जोखिम, प्राकृतिक जोखिम र मानव सिर्जित जोखिमहरूलाई कम गर्नेगरी अघि बढ्न जरूरी रहेको बताए।
उनले भने, ‘हामी विपद् जोखिमको पनि उच्च जोखिममा छौं। हाम्रो भूगोल पनि विपद्को जोखिमकै स्थितिमा छ, भूगोलका कारणले पनि। कतिपय प्राकृतिक जोखिम छन्, कतिपय मानव निर्मित जोखिम छन्। धेरै ज्यादा जोखिमको अवस्थामा हामी रहेका छौं। त्यसो भएको हुनाले यसलाई न्यूनीकरण गर्नका निमित्त हामी सबै मिलेर मात्रै सम्भव छ। हामी सबै मिलेर अघि बढ्यौं भने पूर्वानुमान, सूचनाको कुरामा, तत्काल उद्धार गर्ने विषय होस्, पुनर्निर्माण, पुनर्स्थापनाका लागि हामी सबै मिलेर अघि बढ्न जरूरी छ। हामीसँग प्राधिकरण छ, प्राधिकरणलाई पनि बलियो बनाउन जरूरी छ। जनशक्तिका रूपले, आर्थिक रूपले, सूचना प्रणालीदेखि सबै विषयमा सक्षम बनाउन जरूरी छ। कानूनी रूपले संरचना निर्माण गरेका छौं तर अब ती संरचनालाई सबै किसिमले बलियो बनाउन जरूरी छ। विपद् जोखिमलाई न्यूनीकरण गर्नका निमित्त जति पनि संरचना हामीसँग छन्, तिनलाई बलियो र सक्षम बनाउन जरूरी छ।’
गृहमन्त्री लेखकले समुदाय र वडामा रहेका विपद् जोखिम न्यूनीकरणसम्बन्धी संरचनालाई बलियो बनाउन जरूरी रहेको बताए।
उनले समुदायलाई बलियो नबनाएसम्म विपद् जोखिम न्यूनीकरण गर्न नसकिने बताए।
उनले समयमै पूर्वसूचना प्राप्त भए जोखिम न्यूनीकरणका लागि सहयोगी हुने बताए।—न्युज एजेन्सी नेपाल