२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष नै सरकार सञ्चालनको निश्चितताको संबिधान संशोधन हुनुपर्छ :थापा



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष नै सरकार सञ्चालनको निश्चितता हुनुपर्ने बताएका छन् । त्यसको निम्ति संविधान संशोधन गरिने उनको दाबी छ । “जुन पार्टीले लोकप्रिय मत प्राप्त गर्छ, त्यसले पाँच वर्ष सरकार चलाउन पाउनुपर्छ । हामीलाई समावेशी पनि चाहिएको छ । हाम्रो संसद्‌मा दलित चाहिएको छ । मधेसी चाहिएको छ । महिला अझ बढी चाहिएको छ । त्यो कुरामा कम्प्रोमाइज नगरीकन हामी निर्वाचन प्रणालीमा काम गर्छौँ,” उनले भने ।
थापाले निर्वाचन प्रणालीकै कारण सबैभन्दा ठुलो दलले सरकार बनाउन नपाउँदा गठबन्धन गर्नुपर्ने बाध्यताले मुलुकलाई सही दिशातिर लैजान कठिन भएको बताए। गठबन्धनका कारण पार्टीले गुट बनाउँदा सरकार झनै अस्थिर हुने गरेको तितो अनुभव उनले सुनाए महामन्त्री थापाले सुशासनका बारेमा बोल्दै सरकारमा रहँदासम्म एक अर्का पार्टीका नेता मह जोडीजस्तै देखिने र छुटेपछि धारे हात लगाउने प्रवृत्तिको अन्त्य गर्न अहिलेसम्म ललिता निवास, गिरीबन्धु, वाइड बडी, सहकारी लगायतका चालीसभन्दा बढी काण्डको स्वतन्त्र छानबिन गर्नुपर्नेमा जोड दिए। उनले भ्रष्टाचारलाई शून्यतामा झार्नका लागि पनि स्थिर सरकारको आवश्यता पर्नेमा जोड दिए ।

महामन्त्री थापाले पार्टीको कुनै पनि पदमा रहेको व्यक्तिले गरेको अपराधलाई पार्टीले जिम्मेवारी लिन नमिल्ने भन्दै त्यस्ता व्यक्ति थप सजायको भागिदार हुने बताए। उनले स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै २०८४ सालको निर्वाचनमा घोषणापत्र नभई उपलब्धिपत्र लिएर जानुपर्नेमा जोड दिए। राजनीतिक पार्टीले एकअर्कालाई गाली गर्ने, विश्वास नगर्ने र राम्रो कामको प्रशंसा गर्न नसक्दा युवा राजनीतिबाट बिमुख हुन थालेको बताउए। उनले सूचना प्रविधिको क्षेत्रमा हजारौँ युवा आकर्षित भइरहेको वर्तमान अवस्थामा कानुनमा संशोधन गरेर भए पनि युवा लक्षित कार्यक्रममा लगानी बढाउनुपर्ने धारणा राखे।

महामन्त्री थापाले नेपाली कांग्रेसको काँधमा देशको ठुलो जिम्मेवारी रहेकाले पार्टीका सबै तह र तप्कामा रहेका नेता तथा कार्यकर्ताले एक भएर जिम्मेवारी बहन गर्नुपर्नेमा जोड दिए । उनले १५ औँ महाधिवेशन समयमै सम्पन्न हुने बारेमा कार्यकर्तालाई विश्वस्त पार्दै चैत मसान्तसम्म क्रियाशील सदस्यले सदस्यता नवीकरण गर्न सुझाव दिए।

प्रकाशित मिति : २१ पुस २०८१, आइतबार  ८ : ५८ बजे