काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले आफ्नो पार्टी र नेकपा (एमाले)बीचको सरकार बनेपछि सत्तामा सहजै कसरी पुग्ने भन्ने विषयमा मात्र बहस हुने गरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
“कांग्रेस र एमालेको सरकार बनेपछि कांग्रेस र एमालेको आजको बहस भोलि म सत्तामा मज्जाले कसरी पुग्न सक्छु भन्ने विषयमा मात्रै केन्द्रित रह्यो, अरू केही विषयमा केन्द्रित भएन,” उनले भने ।
उनले अरू राजनीतिक दलहरूमा पनि प्रत्यक्ष निर्वाचित कार्यकारी र सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्नेजस्ता विषयमा मात्र बहस हुने गरेको उल्लेख गरे ।
“प्रत्यक्ष निर्वाचित कार्यकारी चाहियो भन्ने छ, किन हुनुपर्यो ? चाहे बाबुरामजीले भन्नुभएको होला, अथवा अरू कसैले भनेको होला,” उनले भने ।
उनले कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माप्रति लक्ष्य गर्दै सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउन पाउनुपर्ने विषयले अब व्यवस्थापिका नराख्ने भन्नेलाई जोड दिएको टिप्पणी गरे । यसले व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य हुने उनको बुझाइ छ ।
“मेरो पार्टीको महामन्त्रीले सबैभन्दा धेरै मत पाउने पार्टीले पाँच वर्ष निरन्तर सत्ता चलाउनुपर्छ भन्नुभयो । बाबुरामजीले प्रत्यक्ष निर्वाचित कार्यकारी भएपछि सबै चल्छ भन्नुभयो,” उनले भने, “यो भनेको मतलब अब व्यवस्थापिका नराख्ने भनेको हो ? अन्तरनिहित विषय त त्यो हो नि ? व्यवस्थापिकाप्रतिको उत्तरदायित्व अन्त्य गर्ने भनेको हो ।”
नेता रिजालले ‘थ्रेसहोल्ड’ बढाउनु भनेको काग्रेस र एमालेबाहेकका अरू राजनीतिक दल नहोऊन् भन्न खोजेको जिकिर गरे । न्युज एजेन्सी नेपाल