काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्न देशभर चार्जिङ स्टेसन बढाउनुपर्ने बताएका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) २५ वर्ष पुगेको अवसरमा बिहीबार आयोजित इप्पान ईभी र्यालीमा सहभागी हुँदै उनले यस्तो बताएका हुन् ।
नेपालमा पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगमा वृद्धि भएको उनले उल्लेख गरे । उनले निजी मात्र नभएर यात्रुवाहक विद्युतीय सवारीसाधन समेत बढेको बताए ।
“।।।इलेक्ट्रिकल भेइकलमा ट्रान्सपोटेसन भएको छ, यो ठूलो परिवर्तन हो । पछिल्लो समय विद्युतीय सवारीसाधनमा नेपालभर वृद्धि भएको छ,” उनले भने ।
विद्युतीय सवारीसाधनका निम्ति देशभर आवश्यक संरचना बनाउन जरुरी रहेकामा उनले जोड दिए । चार्जिङ स्टेसन मुलुकभर बनाउन आवश्यक रहेको उनको भनाइ थियो ।
६०० बढी चार्जिङ स्टेसन निजी क्षेत्रले मात्र बनाएको उनले उल्लेख गरे । “।।।अहिले ६०० बढी चार्जिङ स्टेसनहरू निजी क्षेत्रले मात्रै बनाएको छ । अझै देशभर बनाउन आवश्यक छ,” उनले भने, “अहिले निजी क्षेत्रबाट ५०० चार्जिङ स्टेसनहरूको लागि आवदेन आएको छ । यसले रोजगारी पनि सिर्जना गरेको छ ।”
इप्पानका अध्यक्ष गणेश कार्कीले नेपालमा उत्पादित विद्युत् मुलुकभित्रै खपत गर्न आवश्यक रहेको बताए । उनले विद्युतीय सामग्रीको प्रयोग बढाउनुपर्नेमा जोड दिए ।