३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

कांग्रेस मन्त्रीले देउवालाई गरे बिफ्रिङ- अपेक्षित काम हुन सकेन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन्।

बिहीबार बिहान निजी निवास बूढानीलकण्ठमा बोलाएर सभापति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरूको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन्।

हालसम्म ३ जना मन्त्रीहरूले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए।

उनले मन्त्रालयले सोचेअनुसारको काममा तीव्रता दिन नसकेको उल्लेख गरे।

छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरूले सुझाव दिएको बताए।

उनले भने, ‘नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरुको उपस्थिति भएको छ। त्यसमा नेपाली कांग्रेसको तर्फबाट आफूले सम्हालेको मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सम्पूर्ण मन्त्रीहरूले आफूले सम्हालेको मन्त्रालयको बारेमा विस्तृत जानकारी दिइरहनुभएको छ। के राम्रा काम भए, कसरी प्रभावकारी बनाउने, कसरी अघि बढ्ने भन्ने विषयमा जानकारी दिने काम भइरहेको छ। अहिलेसम्म तीन वटा मन्त्रालयको विस्तृत जानकारी दिइएको छ। आफ्नो मन्त्रालयको ब्रिफिङ भइरहेको छ। उहाँहरूले सुझाव पनि दिनुभएको छ।’
छलफलमा कृषि तथा पशुपंक्षीमन्त्री रामनाथ अधिकारीले जनअपेक्षाअनुसार काम गर्न कठिन रहेको दृष्टान्त सुनाए ।

उनले किसानको मागअनुसार रासायनिक मल खरिदका लागि सरकारसँग पर्याप्त बजेट नभएको यथार्थ बताए । आगामी वर्षका लागि ११ टन रासायनिक मल जरुरी भए पनि त्यसको ५० प्रतिशत अर्थात साढे ५ टन मल मात्र यायात गर्ने रकम सरकारको ढुकुटीमा रहेको मन्त्री अधिकारीले जानकारी दिए ।

मल आयातका लागि ६० अर्ब रुपैयाँ आवश्यक रहेको तर, उक्त शीर्षकमा २७ अर्ब मात्र बजेट रहेको उनको भनाइ थियो । अधिकारीले दूग्ध किसानलाई अझै ४ महिनाको बक्यौता तिर्न बाँकी रहेको पनि उल्लेख गरे ।

उनले अध्यादेशको बारेमा सकारात्मक छलफल भएको बताए ।

प्रकाशित मिति : ३ माघ २०८१, बिहिबार  १२ : ५२ बजे