काठमाडौं । चितवनमा एक युवक कुटिएका घटनामा संम्लन प्रहरी निलम्बनमा परेका छन् । निर्घात कुटपिट गरेका प्रहरी असई बुद्धिबहादुर भुजेल निलम्बनमा परेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा सवारी जाँचका क्रममा युवकलाई कुटपिट गर्ने प्रहरी निलम्बित भएका छन् । कुटपिट गर्ने प्रहरीलाई निलम्बन गरी थप कारबाही प्रक्रिया अघि बढाइएको हो ।
‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो । त्यसपश्चात् प्रहरीले उनलाई कारबाहीका लागि छानबिन समिति बनाएको छ । तर यो भिडियो भने पुषको मध्यतिरको रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रका अनुसार घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ ।
प्रहरी प्रधान कार्यालय काठमाडौंले पनि युवकमाथि कुटपिट गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।





