२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

प्रधानमन्त्रीले संयन्त्रबाट देश चलाउन खोजेको भन्दै शेखरले पोखे आक्रोस



विराटनगर । नेपाली कांग्रेस नेता डाक्टर शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले संयन्त्रबाट देश चलाउन खोजिरहेको भन्दै असन्तुष्टि ब्यक्त गरेका छन् । सरकारले देश चलाउनु पर्नेमा पधानमन्त्री ओलीले संयन्त्रमार्फत चलाउन खोजेको भन्दै उनले आक्रोस पोखेका हुन् ।

‘हामी डेमोक्रेटिक सिस्टममा छौं, डेमोक्रेटिक सिस्टममा संयन्त्रले देश चलाउने होइन सरकारले चलाउने हो, कुरा बुज्नु भयो ? कोइराला निवासमा पत्रकार सम्मेलन गर्दै कोइरालाले भने, ‘संयन्त्रले देश चलाउन खोज्दै हुनुहुन्छ प्रधानमन्त्री, यो गलत हो, विलकुल गलत हो ।’

नेकपा एमाले र कांग्रेस नेतृत्वमा गठबन्धनको सरकार बनेपछि दुई दलले सरकार सञ्चालनका लागि संयन्त्र बनाएका छन् । प्रदेश तहमा पनि संयन्त्र बनेका छन् । ती संयन्त्रले सरकार सञ्चालनमा सहजीकरण गर्ने भनिएको छ ।

कोइरालाले संयन्त्र बनाउने काम गलत भएको दाबी गरे । ‘२०५१ सालमा एमालेको सरकार थियो, त्यो बेला सचिवको कोठामा एक जना एमालेको आधिकारिक व्यक्ति बस्नुहुन्थ्यो,’ उनले भने,‘ हामी जस्तो मान्छे जाँदा खेरी उहाँको के काम छ भन्दै सोध्नुहुन्थ्यो, फेरि संयन्त्रले त्यही गर्न खोजेको छ ।’

संयन्त्र कम्युनिष्ट मुलुकमा मात्रै हुने उनले बताए । ‘कम्युनिष्ट कन्ट्रीहरुमा हुन्छ संयन्त्रहरु डेमोक्रेटिक कन्ट्रीमा त देश सरकारले चलाउने हो नि ,’ उनले भने ।

प्रकाशित मिति : ९ माघ २०८१, बुधबार  १ : ५३ बजे