२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई लेखा समितिको निर्देशन



काठमाण्डौ । सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । सङ्घीय संसद्अन्तर्गतको सार्वजनिक लेखा समितिले पछिल्लो समय अस्वाभाविक रूपमा बढेको सिमेन्टको मूल्यमा हस्तक्षेप गरी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले सिमेन्टको मूल्यमा अस्वाभाविक मूल्यवृद्धि भएको निष्कर्षमा समिति पुगेकाले तत्काल नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको बताए । उनले सिमेन्टको मूल्यको विषयमा आवश्यक अध्ययन गरी सात दिनभित्र जवाफ पेश गर्नसमेत निर्देशन दिए ।

त्यसअघि बैठकमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले चर्चा भएको जस्तो सिमेन्टमा ५० प्रतिशत मूल्यवृद्धि नभएको बताए । उनले निर्माण व्यवसायी र उद्योगी दुवैलाई सँगै राखेर र छुट्टाछुट्टै पनि बसेर छलफल गरेको जानकारी दिए ।

मन्त्री भण्डारीले उत्पादनमा अभाव र बजारमा अभावको विषयमा उद्योगी र निर्माण व्यवसायीसँगै राखेर टुङ्ग्याउने प्रतिबद्धता जनाए । उनले सरकारी हेटौँडा र उदयपुर सिमेन्ट उद्योगले घाटा खाएर बिक्री गरिरहेका बताए ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  १२ : ०४ बजे