२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

पर्वत पुगेर महामन्त्री थापाले भने- एक वर्षीय रोजगारी केन्द्रित अभियान चलाउँदैछौं



पर्वत । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली तन्नेरीलाई रोजगार दिने गरि अभियान सञ्चालन गर्ने तयारीमा रहेको बताएका छन् ।

पर्वतमा मंगलबार भएको कार्यक्रममा बोल्दै महामन्त्री थापाले भने, ‘केही दिनअघि मात्रै कांग्रेस केन्द्रीय कार्यालयमा सानासाना उद्यम चलाएका मानिसलाई बोलायौं, उनीहरूका कथा सुन्यौं। सामानका प्रदर्शनी राख्यौं। अब फागुन २६ र २७ गते विदेशका पनि केही अनुभवी मानिसलाई बोलाएर नेपालको अर्थतन्त्र कसरी उकास्ने भनेर छलफल गर्दैछौं।’

उनले फागुनको पहिलो सातामा आफू र महामन्त्री विश्वप्रकाश शर्माले रोजगारी केन्द्रित अभियान सुरूवात गर्ने बताए।

‘फागुन पहिलो साता दुइटा महामन्त्रीले एक वर्षीय रोजगारीकेन्द्रित अभियान चलाउँदैछौं। एक वर्षभर हामी रोजगारीकेन्द्रित विषयमा छलफलमा केन्द्रित रहनेछौं,’ महामन्त्री थापाले भने, ‘नेपाली तन्नेरीलाई नेपालमै रोजगारी सिर्जना कसरी गर्ने भनेर छलफल गर्दैछौं किनकी यो हाम्रो जिम्मा हो।’

‘मति र गति ठीक बनायौं भने परिणाम पनि ठीक आउँछ । यो गराउने जिम्मा कस्को हो त रु’ महामन्त्री थापाले भने,‘जिम्मेवारी हाम्रो होइन, हामी देशको जेष्ठ पार्टी हो । जेष्ठ पार्टी हुनुको अर्थ समाल्ने हाम्रो धर्म हो ।”

नेपाल बन्दैछ र हामी बनाउँछौ भन्ने कांग्रेसको नारा हुनुपर्ने उनले बताए ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : १० बजे