काठमाडौं । नेपाल महिला ट्वान्टी–२० शृंखलामा घरेलु टोलीले नेपालले नेदरल्यान्ड्सविरुद्ध १० विकेटको लज्जास्पद हार बेहोरेको छ । युवा ब्याटर पूजा महतोको अर्धशतकका बाबजुद पनि उक्त हार बेहोरेको हो नेपालले प्रस्तुत गरेको १४६ रनको लक्ष्य नेदरल्यान्ड्सले १९।४ ओभरमा विकेट नगुमाई पूरा गर्यो ।
नेदरल्यान्ड्सको जितमा ओपनर स्टेरे कालिसले सर्वाधिक ९८ रन बनाइन् । शतक बनाउन दुई रनले चुकेकी उनले ६९ बलमा ११ चौका र दुई छक्का प्रहार गरिन् ।
यस्तै, अर्की ओपनर फेबे मोल्केनबोर ४८ रनमा अविजित रहिन् ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेट गुमाएर १४५ रनको योगफल खडा गरेको थियो ।
नेपालकी युवा ब्याटर पूजा महतोले अविजित ६२ रन बनाएकी थिइन् । उनले ५१ बलमा पाँच चौका प्रहार गरिन् ।
यस्तै, कप्तान इन्दु बर्माले ३९ र रुविना क्षेत्रीले २० रन थपे ।
नेदरल्यान्ड्सकी एरिस ज्विलिङले दुई विकेट लिइन् । यस्तै, क्यारोलिन डे लिंगे र हिथर सिगेर्सले समान एक विकेट लिए ।
नेपालले अब शुक्रबार अन्तिम खेलमा थाइल्यान्डविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।प्रतियोगितामा नेपालको यो लगातार पाँचौँ हार हो ।





