१० असार २०८३, बुधबार | Wed Jun 24 2026

वालेन्द्र शाह सचिवालयका तीन जनाको केन्द्रीय सदस्यका उम्मेदवार



चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिमा सो पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका तीन जनाले उम्मेदवारी दिएका छन् ।
प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल तथा युवा नेत्री एवं प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले केन्द्रीय समितिको सदस्य पदमा उम्मेदवारी दिए ।
राजनीतिक सल्लाहकार शाहले मुस्लिम समावेशीतर्फबाट उम्मेदवारी दिए । शाहलाई तत्कालीन काठमाडौँ महानगरपालिकाका प्रमुख वालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माण गर्ने प्रमुख सूत्रधारका रूपमा हेरिन्छ । उहाँले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सबैभन्दा पहिले सांसद पदबाट राजीनामा दिए ।
शाहले जेनजी आन्दोलनको मर्मअनुसार वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले चलचित्र निर्देशक, निर्माता तथा सञ्चारकर्मीका रूपमा पनि परिचित छन् ।
प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिनुभएका शाह पछिल्लो समय सरकारको राजनीतिक तथा रणनीतिक सल्लाहकारका रूपमा सक्रिय हुनुहुन्छ । वैकल्पिक राजनीतिक शक्तिहरूबीच समन्वय, नीतिगत बहस, राजनीतिक संवाद तथा सङ्गठन विस्तारका विषयमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएको प्रेस सहजकर्ता बजगाईंले जानकारी दिए । सार्वजनिक चर्चाभन्दा कार्यसम्पादनमा केन्द्रित ढकाल पछिल्लो समय पार्टी समायोजन, सुशासन अभियान तथा प्रशासनिक सुधारका महत्वपूर्ण अभियानमा नेपथ्यबाट सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएका व्यक्तिका रूपमा चिनिएका ।

उनी काठमाडौँ महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँगै कार्यरत थिए। उनले महानगरपालिकामा सूचना प्रणाली विकास, डिजिटल प्रशासन तथा डाटामा आधारित निर्णय प्रक्रियालाई संस्थागत बनाउन महत्वपूर्ण भूमिका खेले ।

ढकालले जेनजी आन्दोलनपछिको राजनीतिक पुनर्संरचना तथा सहकार्य प्रक्रियामा प्रमुख सूत्रधारका रूपमा काम गरेका थिए । वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको समन्वय तथा संवाद प्रक्रियामा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । यही कारणले पनि उहाँ पार्टीभित्र रणनीतिक योजनाकार तथा समन्वयकर्ताका रूपमा परिचित हुनुहुन्छ ।

प्रेस सहजकर्ता बजगाईंका अनुसार प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गर्नुभएको छ । सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएकी ढकाललाई रास्वपाभित्र नीतिगत विषयमा दक्ष युवा नेतृका रूपमा चिनिन्छ । ढकाल सार्वजनिक नीति, रणनीतिक योजना तथा अन्तरमन्त्रालय समन्वयका क्षेत्रमा कार्यरत छन्।

प्रकाशित मिति : १० असार २०८३, बुधबार  ८ : ४६ बजे