चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री रवि लामिछाने माथि लागेको सहकारी ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदै छ ।
जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा हेर्दा हेदैको सूचिमा रहेको लामिछानेको ठगी सम्बन्धी मुद्दामा बिहीबार पनि थुनछेक बहस हुँदै भएको हो ।
थुनछेक बहस नसकिएका कारण बुधवार अदालतले लामिछानेलाई न्यायिक हिरासतमा राख्न प्रहरीको जिम्मा लगाएको थियो ।
मुद्दामा सहकारी पीडितका तर्फबाट अधिवक्ता रमेश काफ्लेले बहस गर्नुभएपछि हिजोको अदालतको कारबाही रोकिएको थियो । त्यसलाई निरन्तरता दिँदै सहकारी पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता राजकुमार श्रेष्ठ, अधिवक्ता सुनिता अधिकारी र अधिवक्ता शम्भू वर्तौलाले आज बहस गर्दै छन् ।
त्यसपछि मात्रै रवि लामिछानेका तर्फका अधिवक्ताहरूले बहस गर्ने कार्यक्रम छ । सो मुद्दामा लामिछानेका तर्फबाट बचाउ बहसकालागि वरिष्ठ अधिवक्ता सुनिलकुमार पन्तको नेतृत्वमा दश जना अधिवक्ताले आफ्नो नाम वकलातनामामा दर्ता गराएका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले रविका विरुद्ध मंगलबार सङ्गठित अपराधको मुद्दा उन्मुक्ति दिदै ठगीमा मात्र मुद्दा दर्ता गराएको थियो । २०८१ असोज ८ गते चितवन जिल्ला अदालतमा साहारा चितवनको मुद्दा दर्ता भएको थियो । सोही मुद्दा विचराधिन भइरहेका बेला पूरक निवेदन दर्ता भए पछि लामिछाने सहितका ३२ जना विरुद्ध मुद्दा दर्ता गराएको थियो ।
लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २४९ उपदफा १ र २ विपरीत कसुर गरेको अभियोग लगाइएको छ । दफा २४९ को उपदफा ३ ग बमोजिम कारबाही माग गरिएको छ ।





