२३ जेष्ठ २०८३, शनिबार | Sat Jun 6 2026

बालयौन दुर्व्यवहारमा मदन राईलाई साढे २ वर्ष कैद, एक लाख जरिवाना



खोटाङ । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो।

जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ २५ गते सजाय निर्धारण गरेको हो। दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए। यस्तै, पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनको भनाइ छ।

कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका(२ सोल्मास्थित शुभद्रा मदन ९शुभम० फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग थियो। यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो।

फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए। मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी उनी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटी तारेखमा रिहा भएका थिए।

आरोपितविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेका थिए। अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।

प्रकाशित मिति : २५ माघ २०८१, शुक्रबार  ९ : ३८ बजे