९ चैत्र २०८२, सोमबार | Mon Mar 23 2026

एक महिने कठोर व्रत गरिरहेका बर्तालु चाँगुनारायणको यात्रामा



भक्तपुर । माधवनारायणको एकमहिने कठोर व्रत गरिरहेका बर्तालु चाँगुनारायणको परदेश यात्रामा निस्केका छन् ।

माघ शुक्ल एकादशीका दिन चाँगुनारायण स्नानको यात्रा गर्ने व्रत विधिअनुसार शनिबार बेलुकी साँखुस्थित शालीनदीबाट बर्तालुले चाँगुनारायण मन्दिरमुनिको जङ्गलमा रहेको पोखरीमा स्नान गरी साँखुबाट बोकेर ल्याएको जल चाँगुनारायणमा चढाई माधवनारायणको पूजा आराधना गरेका हुन् ।

परदेश यात्रा सकी बर्तालु चाँगुबाट साँखु फर्कने नियम छ । आज आइतबार साँखु फर्कने बर्तालुले त्यहीँ भोजन गर्नेछन् । माघ शुक्ल नवमी अर्थात् द्रोण नवमीका दिन बर्तालुलाई खीर खुवाइएको थियो । माघ कृष्ण त्रयोदशीदेखि परदेश यात्रा गरेका थिए ।

पहिलो दिन शालिनदीबाट बज्रयोगिनी ढोकासम्म साष्टाङ्ग दण्डवत गर्दै जाने चलन छ । माघकृष्ण चतुर्दशीका दिन साँखुबाट बज्रयोगिनी र पशुपति गइन्छ । त्यसको भोलिपल्ट पशुपतिबाट फर्पिङ बास हुन्छ । अर्को दिन फर्पिङबाट साँखु बास बसिन्छ ।

माघ शुक्ल प्रतिपदामा यो यात्रा सकिन्छ । माघ शुक्ल तृतीयादेखि फेरि साँखुबाट पनौती पुगी एक रात बास बसिएको थियो । भोलिपल्ट पनौतीबाट साँखु फर्कने परम्परा छ । साँखुमा श्रीपञ्चमी र लगला सप्तमी पर्व मनाइएको थियो ।

परदेश यात्राका क्रममा भोजन गर्ने स्थान पनि तोकिएको हुन्छ । पशुपतिबाट फर्पिङ जाँदा सानो गौचरण, फर्पिङबाट साँखु आउँदा शङ्खमूल, पनौतीबाट साँखु आउँदा बनेपा र नालाको मध्यभागस्थित भोखुसीमा र चाँगुबाट साँखु आउँदा साँखुमा भोजन गर्ने ठाउँ तोकिएको छ ।

परदेश यात्रामा चिउरा, सुन्तला, चाकु, घ्यू, चिनी, लप्सी, रातो मुला, अदुवा आदि बर्तालुले लानुपर्छ । नजिकका आफन्तले निराहार बसी दूध उमालेर लगिदिएमा खान हुने भोजन विधि रहेको साँखुका स्थानीय जयराम श्रेष्ठको भनाई छ ।

परदेश यात्रामा बर्तालुका साथ स्वयंसेवक पनि हुन्छन् । बर्तालुले खाली गोडा पैदल हिँडेर परदेश यात्रा गर्ने व्रत विधि छ । बर्तालुको परदेश यात्राका क्रममा पशुपति क्षेत्र विकास कोष, स्थानीयवासीलगायतले सहयोग गरेका छन् ।

माधवनारायण व्रत कठोर व्रतमध्येमा पर्छ । व्रत कठोर भए पनि सहज रूपमा यसको अभ्यास गर्दै आएको बर्तालुले बताएका छन् ।

प्रकाशित मिति : २७ माघ २०८१, आइतबार  १२ : ३० बजे