हेटौँडा । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नागरिकको आर्थिक सम्पन्नताका लागि वर्तमान गठबन्धनको सरकार बनेको बताएका छन् ।
नेपाली कांग्रेस मकवानपुरले बिहीबार हेटौँडामा पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यकर्ता भेलामा बोल्दै उनले आर्थिक सम्पन्नतातर्फ समाजलाई लैजान अहिलेको गठबन्धनको सरकार बनेको बताए ।
कांग्रेस नेता सिंहले राजनीतिक स्थायित्व र स्थिरता दिन दुई ठुला दल कांग्रेस र नेकपा एमालेको अहिलेको गठबन्धनको सरकार बनेको भन्दै अहिलेभएको राजनीतिक परिवर्तनलाई जोगाउँदै नागरिकलाई आर्थिक सम्पन्नताको आभाष दिन सकेनौँ भने समस्याआउने बताए । आम जनताको चाहना भनेको बेरोजगारीको अवस्थाको अन्त्य, बेरोजगारलाई रोजगारी दिने, विदेशमा जानु नपरोस्, आफ्नै परिवारसँग गाउँठाउँमा केही गर्न सकियोस् भन्ने नागरिकको चाहनालाई कार्यान्वयन गर्नेतर्फ हामी लाग्नुपर्ने उनले भने, वर्तमान गठबन्धनको सरकार त्यही दिशामा लागेको छ । समय लाग्दा तर हामीले लक्ष्य र योजना बनाउनै पर्छ । यसतर्फ हामी सबै लाग्नु आवश्यक छ ।
सबै सकारात्मक भावना र धारणाका साथ अगाडि बढ्नु आवश्यक रहेको उनको भनाइ छ ।





