७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

विचाराधीन विधेयक अघि बढाउने प्रमुख सचेतकहरुको निर्णय



काठमाडौं । सत्तापक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकलाई छिटो पारित गर्नेगरी अघि बढ्ने निर्णय गरेको छ । आइतबार सिंहदरबारस्थित नेकपा ९एमाले० को संसदीय दलको कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको हो ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तापक्षका प्रमुख सचेतक महेश बर्तौलाले संसदमा विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको बताए । उनले संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा केही महत्वपूर्ण छलफल भएको जानकारी दिए । एमालेका प्रमुख सचेतकसमेत रहनुभएका बर्तौलाले विगतका ४ वटा अधिवेशनमा पास भएकोभन्दा बढी विधेयकहरु यस अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्नु पर्नेमा सत्तापक्षका प्रमुख सचेतकहरुले जोड दिएको बताए ।

उनले विद्यालय शिक्षा विधेयक र निजामति कर्मचारी विधेयकलाई चालु अधिवेशनबाट पारित गर्नेगरी अघि बढ्ने कुरामा सत्तापक्ष एक भएको बताए ।

उनले भने, “संसदमा कतिपय विचाराधीन विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भयो । संसदमा पेश भएका अध्यादेशका सन्दर्भमा पनि केही छलफलहरु भए । आगामी कुन बैठकमा यसलाई कार्यसूचीमा लैजान सकिन्छ, त्यो विषयमा पनि छलफल गरेका छौँ ।”

“यो हाउसमा विचाराधीन भएका कैयौँ महत्वपूर्ण विधेयकहरु छन् । बाहिर सार्वजनिक टिप्पणीहरु र बहसका विषय पनि छन् । अहिलेको अधिवेशन विधेयक अधिवेशन हो” उनले भने । शिक्षा विधेयक, सङ्घीय निजामती विधेयक अघि बढ्छ कि बढ्दैन, भन्नेछ । महत्वपूर्ण देखिएका विधयेकलाई निष्कर्षमा पुर्‍याउने कुरा भएको छ उनले बताए ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले सत्ता पक्षका प्रमुख सचेतकहरुको बैठकले संसदमा विचाराधीन विधेयकहरु छिटो पारित गरी कानुनी रुप दिने र आउने विधेयकलाई पनि छिटो पारित गर्नेगरी प्रक्रिया अघि बढाउने बारेमा छलफल भएको बताए । उनले विधेयक पारित गर्ने प्रक्रिया सुस्त भएकोप्रति आफूहरु पनि चिन्तित रहेको उल्लेख गर्दै अब तीव्रता दिने निर्णय भएको बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८१, आइतबार  १ : २२ बजे