१७ माघ २०८२, शनिबार | Sat Jan 31 2026

पार्टीभित्रको मतभेद हटाएर भाइब्रेण्ट डेमोक्रेटिक पार्टी बनाउनुपर्छ : सभापति देउवा



रुपन्देही । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको मतभेद हटाउनुपर्ने बताएका छन् । उनले पार्टी भित्रको मतभेद हटाएर काँग्रेसलाई जीवन्त भाइब्रेण्ट डेमोक्रेटिक पार्टीको रूपमा अगाडि बढाउनुपर्ने बताए । ।

काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको सोमबार रुपन्देहीको भैरहवामा उद्घाटन गर्दै सभापति देउवाले काँग्रेसलाई अझै ठुलो पार्टी बनाउने गरी लाग्न निर्देशन समेत दिए ।

पूर्व प्रधानमन्त्री समेत रहनु भएका सभापति देउवाले काँग्रेसलाई जीवन्त भाइब्रेट डेमोक्रेटिक पार्टी बनाउन सके पार्टीप्रति अझै आकर्षण बढ्दै जाने उल्लेख गरे । सभापति देउवाले भने, ‘हाम्राबिचमा अनेक किसिमका मतभेदहरू हुन सक्छन्, कतिपय कुराहरू नमिलेका हुन सक्छन् । ती सबै कुरालाई आपसमा छलफल, मेलमिलाप, विश्वास र कुराकानी गरेर मतभेद हटाउनुपर्छ ।’ काँग्रेसलाई अहिलेको भन्दा अझै ठुलो पार्टी बनाउनुपर्नेमा जोड दिए ।

उनले लोकतन्त्र÷प्रजातन्त्रमा प्रतिपक्षी पार्टीको धरै भूमिका हुने बताउनुभयो । ‘हाम्रो देशमा लोकतन्त्र, प्रजातन्त्र छ, यो अत्यन्तै समावेशी, समानुपातिक र विपक्षी दलसहितको व्यवस्था बनेको छ,’ सभापति देउवाले भने ।

नीति अनुसन्धान प्रतिष्ठानका प्रमुख तथा काँग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रशिक्षणमा मुलुकभरका क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण प्रतिष्ठान प्रमुख र एउटै निर्वाचन क्षेत्र भएका जिल्लाका सभापति र उपसभापति समेत गरेर ३ सय ३० जनाभन्दा बढी नेता कार्यकर्ताहरू भैरहवा आएको बताए ।

प्रशिक्षणमा पार्टीलाई कसरी संस्थागत र बलियो बनाउने भन्ने विषयमा व्यापक रूपमा छलफल हुने उपसभापति खड्काले जानकारी दिए ।

काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण कार्यक्रमको आयोजना तथा काँग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको आतिथ्यमा सुरु भएको कार्यक्रम मङ्गलवार सम्म सञ्चालन हुने क्षेत्रीय सभापति सुशील गुरुङले बताए।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  २ : २२ बजे