२५ भदौ २०८३, बिहिबार | Thu Sep 10 2026

खानेपानीमन्त्री यादव र भारतीय जलशक्तिमन्त्रीबीच समझदारी 



काठमाडौं । खानेपानीमन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्तिमन्त्री सीआर पाटिलले आज खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

आज सोमबार नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा स्वच्छता ९वास० क्षेत्रको विकासका लागि महत्त्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच नेपाल सरकारका तर्फबाट मन्त्री यादव तथा भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री पाटिलले हस्ताक्षर गरेको खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक रामकुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने, “भारत र नेपाल सरकारबीच खानेपानी, सरसफाइ र फोहोर व्यवस्थापन क्षेत्रमा सहयोग विस्तार गर्न सम्झौतापत्रमा हस्ताक्षर भएको तथा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच, सरसफाइ प्रवर्द्धन, फोहोर व्यवस्थापन र नेपाल सरकारको प्रयासलाई सशक्त बनाउने उक्त सम्झौतापत्रको लक्ष्य रहेको छ ।”

भारत र नेपालबीच मैत्रीपूर्ण सहकार्यलाई प्रवर्द्धन गर्ने र स्वच्छता क्षेत्रमा अन्तर–सरकारी सहकार्यलाई सुदृढ गर्ने आकांक्षा राख्दै, जल सुरक्षासम्बन्धी नेपाल सरकारका प्रयास तथा चिन्तालाई स्वीकार गर्दै, नेपालमा सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्दै, सुरक्षित वातावरणमा जनताको जीविकोपार्जनलाई सक्षम तुल्याउने उद्देश्य राखिएको उक्त सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

सम्झौतामा भूमिगतपानी व्यवस्थापन, प्रविधि तथा सूचना आदान–प्रदान, वर्षाको पानी संकलन तथा मापन, प्रविधि साझेदारी, नेपाल सरकारलाई प्रविधि तथा तालिम सहयोग रहने उल्लेख गरिएको छ । उक्त सम्झौताले भारत र नेपालबीच खानेपानी तथा सरसफाइ क्षेत्रमा आपसी सहयोग बलियो बनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रममा भारतका लागि नेपालका राजदूत शंकरप्रसाद शर्मा, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, भारतसरकारको जलशक्ति मन्त्रालयका सचिवद्वय अशोक मिणा र देवश्री मुर्खजीलगायतको सहभागिता थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ०० बजे