काठमाडौं । कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए)मा आबद्ध कानुन व्यवसायीले नेपाल बार एसोसिएसन निर्वाचन समितिको कार्यालय घेराउ गरेका छन् । आउँदो चैत २३ गते हुने नेपाल बार केन्द्रीय कार्यसमिति निर्वाचनको नामावलीमाथि उजुरी परेपछि उनीहरूले उक्त कार्यालय घेराउ गरेका हुन् ।
उच्च अदालत बार एसोसिएसनले काठमाडौं जिल्ला अदालत बारका ७११ मतदाताको नाम हटाउनुपर्ने भन्दै उजुरी गरेको थियो । त्यसपछि मंगलबार ९फागुन २०० डीएलएका कानुन व्यवसायीले नेपाल बारको निर्वाचन समितिको कार्यालय घेराउ गरेका हुन् ।
निर्वाचनका निम्ति ११ हजार ७७२ जनाको प्रारम्भिक नामावली सार्वजनिक गरिएको थियो । उक्त नामवलीमा सोमबारसम्म दाबी–विरोधको समय तोकिएको थियो । उच्चले काठमाडौं जिल्ला बारले बार काउन्सिलको नवीकरण नगरेको भन्दै उजुरी गरेको थियो । त्यसपछि काठमाडौं बारले पनि नीतिगत रूपमा सबैको छानबिन गर्न माग गर्दै उजुरी गरेको थियो ।
डीएलएका अध्यक्ष सुशीलराज पौडेलले बार काउन्सिल अद्यावधिक गरेरनगरेको सबैको भिडाउनुपर्नेमा निर्वाचन समितिले एकपक्षीय रूपमा काठमाडौं बारको मात्र छानबिन गर्न लागेकाले विरोधमा उत्रिएको बताए ।
“यही फागुन १५ गते प्रकाशित नेपाल बारको मतदाता नामावलीमा केन्द्रीय कार्यसमितिबाट अनुमोदन भई निर्वाचन समितिलाई मतदाता नामावली दिइसकेपश्चात् केही साथीहरूले मतदाता नामावलीमा उजुरी गरेको कारणले गर्दा सम्पूर्ण मतदाता नामावलीहरूको हकमा छानबिन गरी मतदाता नामावली प्रकाशित गर्नुपर्नेमा सो नगरी नेपाल बारको केन्द्रीय समितिले अनुमोदन गरेर निर्वाचन समितिलाई दिइसकेको मतदाता नामावली निर्वाचन समितिले एकतर्फी रूपमा काठमाडौं जिल्ला बारको हकमा मात्रै हटाउने तयारी गरेको हुँदा सोको विरुद्ध हामी एकताबद्ध भएर विरोधमा उत्रिएका छौँ,” उनले भने ।
नेपाल बारको विधानको धारा २५ अनुसार मतदाता नामावली कायम गर्नुपर्ने आन्दोलनरत पक्षको माग छ । निर्वाचन समितिले एकतर्फी रूपमा गरेको निर्णय बदर गर्नुपर्ने समेत डीएलएको माग छ ।





