ललितपुर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको लक्षित गरी क्रियाशील सदस्यता वितरण कार्य तीव्र पारिएको छ । महामन्त्री गगनकुमार थापा संयोजकत्वको क्रियाशील सदस्यता वितरणसम्बन्धी समितिको निर्देशनपछि मात्रै सदस्यता वितरणले तीव्रता पाएको हो ।
समितिले पार्टीका सबै कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न गरी निर्णयको प्रतिलिपि, अद्यावधिक विवरण, सदस्यता शुल्कसहितका कागजात तथा जिल्लाको प्रतिवेदन २०८१ चैत २९ गते केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिएपछि मात्रै वडास्तरबाटै सदस्यता वितरणको काम अघि बढेको हो ।
कांग्रेस केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीका अनुसार एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका क्षेत्रीय कार्यसमितिले प्रदेश सभा कार्यसमितिबाट प्राप्त क्रियाशील सदस्यता नवीकरण फाराम चैत १५ गते पठाउन भनिएको छ ।
कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी समितिमा महामन्त्री थापासँगै केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र स्नेही हुनुहुन्छ । कांग्रेस केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार क्रियाशील सदस्यताबारे वडाले प्रस्ताव गरेपछि पालिकाले सिफारिस गर्ने छ ।