६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025

पूर्वविशिष्ट पदाधिकारीहरूलाई आजीवन सुविधा दिने सरकारी तयारी सत्तारुढ काँग्रेसको असन्तुष्टि



काठमाडौँ । पूर्वविशिष्ट पदाधिकारीहरूलाई कानुन बनाएर आजीवन सुविधा दिने सरकारी तयारीप्रति सत्तारुढ नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले असन्तुष्टि जनाएका छन् ।

आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो असन्तुष्टि जनाए । उनले मुलुक आर्थिक रूपमा कमजोर भएको अवस्थाका पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन कानुन बनाइरहेको समाचारहरू आएको भन्दै यस्तो गर्न नहुने बताए । उहाँले भ्रष्टाचार नियन्त्रण गर्न नसकिएको, युवाहरू रोजगारीका लागि विदेश जान बाध्य भएको तथा जनताले उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेको भन्दै सरकार त्यसतर्फ केन्द्रित हुन जरुरी रहेको बताए ।

उनले भने, ‘अहिले देश आर्थिक दृष्टिकोणले कमजोर अवस्थाबाट गुज्रिरहेको छ । विकास निर्माण र सार्वजनिक सेवा प्रभावकारी बनाउन नसकेको भनेर आलोचना भइरहेको अवस्थामा सरकारले पूर्वविशिष्ट पदाधिकारीलाई आजीवन सेवा दिने कानुन बनाउन लागेको समाचार बाहिर आएको छ । कानुनको मस्यौदा बनिरहेको भनेर बाहिर आएको छ । जबकि मुलुकको आर्थिक अवस्था कमजोर अवस्थामा छ । भ्रष्टाचार नियन्त्रण हुन सकिरहेको छैन । युवाहरू रोजगारीका लागि विदेश जान बाध्य छन् । जनताले उपचार नपाएर ज्यान गुमाउने अवस्था पनि देखा परिरहेको छ । राज्यप्रति जनता उदासिन भइरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई विपल बनाउन प्रतिगामीहरू सडकमा नारा जुलुस समेत गरिरहेको अवस्था छ । यस्तो अवस्थामा पूर्वविशिष्टहरूलाई आजीवन सुविधा दिन देशको हितमा छैन ।’

प्रकाशित मिति : २ चैत्र २०८१, आइतबार  १२ : ५२ बजे