९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

ट्रम्पद्वारा ५ लाख ३० हजार आप्रवासीको सुरक्षा खारेज



अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले ५ लाख ३० हजार भन्दा बढी आप्रवासीको अस्थायी कानूनी वैधता खारेज गर्ने भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पको प्रशासनले क्युबा, हाइटी, निकारागुआ र भेनेजुएलाका ५ लाख ३० हजार आप्रवासीको अस्थायी कानूनी मान्यता खारेज गर्ने घोषणा गरेको हो ।

अमेरिकी संघीय सरकारले जारी गरेको सूचना अनुसार ती आप्रवासीलाई अप्रिल २४ मा उनीहरूको अनुमति र निर्वासन कवच रद्द गर्नुअघि देश छोड्न चेतावनी दिइएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार ५पाँच लाख ३० हजार आप्रवासीलाई बाइडेन प्रशासनले अमेरिका ल्याइएको थियो जसलाई सीएचएनभी भनिन्छ। ट्रम्पले पदभार ग्रहण गरेपछि उक्त कार्यक्रम स्थगन गरेका थिए ।

सन् २०२२ मा बाइडेनले भेनेजुएलाका नागरिकबाट यो कार्यक्रम शुरु गरेका थिए। बाइडेन प्रशासनले कानूनी रूपमा आप्रवासनको बाटो खोल्ने प्रयोजनका लागि यो कार्यक्रम शुरु गरेको थियो। तर ट्रम्पले पद सम्हालेसँगै कार्यक्रम निलम्बनको निर्णय गरेका हुन्। बाइडेन प्रशासनले निष्कासन नगर्ने प्रतिबद्धता पत्र र वर्क परमिट दिएका ५ लाख ३० हजार आप्रवासीमध्ये कतिले स्थायी बसोबासको कानूनी अधिकार प्राप्त गरिसके भन्ने एकिन विवरण भने नरहेको समाचारमा उल्लेख छ ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शनिबार  ११ : ३३ बजे