२५ चैत्र २०८१, मंगलबार | Tue Apr 8 2025

भारत, बंगलादेश र भुटानका आँखाका बिरामी उपचार गर्न नेपालमा



काठमाडौं । भारत, बंगलादेश, भुटानलगायत देशका नागरिक आँखा उपचारका लागि नेपाल आउने गरेका छन् । नेपाल नेत्रज्योति संघले सञ्चालन गरेका २८ आँखा अस्पताल, २२४ आँखा उपचार केन्द्रमा विदेशी बिरामी उपचारार्थ आएका हुन् ।

सन् २०२४ मा संघको सञ्जालमार्फत नौ लाख सातहजार ७१ जना विदेशी नागरिकको आँखा परीक्षण तथा एक लाख ६२ हजार ८४५ जनाको शल्यक्रिया गरिएको संघका कार्यकारी निर्देशक डा। शैलेशकुमार मिश्रले बताए ।

सञ्जालमार्फत सन् २०२४ मा ३२ लाख ६८ हजार ३४ जना आँखाका बिरामीको आँखा परीक्षण गरी दुई लाख ५८ हजार ५७५ जनाको शल्यक्रिया गरिएको छ । संघका अस्पताल तथा विभिन्न बाह्य कार्यक्रममार्फत ३४ हजार चार सय २५ जना आँखाका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।

संघले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाको सहयोग तथा अस्पतालको आन्तरिक स्रोतबाट निःशुल्क शल्यक्रिया गरेको हो ।

संघले आफ्ना सञ्जालमार्फत नेपाली तथा अन्य देशका नागरिक गरी हालसम्म चार करोड ६८ लाख ६८ हजार ६० जनाको उपचार गरेको छ । यस्तै, ५३ लाख ९२ हजार २२४ जनाको आँखाको शल्यक्रिया गरेको कार्यकारी निर्देशक मिश्रले जानकारी दिए । रासस

प्रकाशित मिति : १२ चैत्र २०८१, बुधबार  ९ : ५६ बजे