काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षकको जारी आन्दोलन अन्त्यका लागि दुईवटा विकल्प अघि सारेका छन् ।
उनले आफ्नो सामाजिक सन्देशमा एक भिडियो सन्देश जारी गर्दै तत्काल सम्बोधन हुने माग मन्त्रिपरिषद् बैठक बसेर आजै टुंगो लगाउन सकिने बताएका छन् ।
संसद्को अधिवेशन बोलाउने दिन तोकेर शिक्षकलाई आश्वस्त बनाउन विधेयक पास गर्ने ‘टाइफ्रेम’ दिन सकिने उनको भनाई छ ।
“शिक्षकले अघि सारेका १५ वटा माग मन्त्रिपरिषद् बैठकबाट सम्बोधन गर्न सकिन्छ । यसलाई आजै मन्त्रिपरिषद् बैठक बसेर निर्णय गरौँ,” “कतिपय सम्बन्धित मन्त्रालयले निर्णय गरेर गर्न सकिने कामहरू छन् । यो कामलाई तत्काल आजै गरौँ ।”
यसले शिक्षकमा विश्वास र भरोसाको वातावरण बनाउने उनको भनाइ छ ।
संसद्बाट पूरा गर्न सकिने माग सम्बोधन गर्न संसद् बोलाउनुपर्नेमा उनको जोड छ । “कानुन संसद्ले बनाउने हो । संसद् बोलाउन सरकारले मिति तय गर्नुपर्छ । संसद् सुरु भएको सातरआठ दिनभित्र शिक्षा विधेयक पारित गर्छौं भन्ने प्रतिबद्धता जनाऔं,” महामन्त्री थापाले भनेका छन्, “विधेयकको अन्तरवस्तुमा यसअघि नै समझदारी भइसकेको छ । दिनरात नभनी काम गर्न सकियो भने वैशाखको १२र१५ मा शिक्षा विधेयक पास गर्न सकिन्छ ।”
शिक्षकले उठाएका माग यसअघि नै पूरा गर्ने विषय भएको भन्दै थापाले हालसम्म पूरा नहुनु लज्जास्पद भएको बताए ।
कांग्रेस सरकारमा भइरहेका बेला यस्तो अवस्था आउनु दुर्भाग्य भएको उनको भनाइ छ ।
अब सबै मिलेर शिक्षकका माग सम्बोधन गर्दै शिक्षकहरूलाई कक्षा कोठामा फिर्ता गराउनुपर्ने महामन्त्री थापाको धारणा छ । शिक्षकहरुले भने आफ्ना माग सम्वोधन नभए कपी परिक्षण समेत नगर्ने बताएका छन् ।