२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

कांग्रेसको महिला संघका २० केन्द्रीय सदस्यले दिए राजीनामा, अधिकांस गगन पक्षका



काठमाडौँ । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघका गगन शेखर पक्षका २० केन्द्रीय सदस्यहरूले सामूहिक राजीनामा दिएका छन् ।
अध्यक्षको काम कारबाहीप्रति असन्तुष्टि जनाउँदै उनीहरुले‍ सामूहिक राजीनामा दिएका हुन्।

बुधबार कांग्रेस सभापति शेरबहादुर देउवालाई पत्र लेखेर सामूहिक राजीनामा बुझाएका हुन् । सभापति देउवा पार्टी कार्यालयमा नभएपछि उनीहरुले पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललाई सामूहिक राजीनामा पत्र बुझाए ।

पत्रमा हालसम्म नेपाल महिला संघले विधान बमोजिम कुनै पनि काम अघि बढाउन नसकेको भन्दै उनीहरुले सामाजिक राजीनामा बुझाउन बाध्य भएको उल्लेख गरिएको छ ।

पटक पटक व्यक्तिगत र सामूहिक रुपमा बैठक बसी आवश्यक निर्णय गरेर पारदर्शी तबरले संगठनका क्रियाकलापहरुलाई सञ्चालन गर्न आग्रह गरेको र दिइएको अवधिभित्रमै तोकिएको जिम्मेवारी सम्बोधन गर्न आग्रह गरिरहेको अवस्थामा कुनै पनि सुनुवाइ नभएपछि बाध्य भएर राजीनामा बुझाएको उनीहरुको भनाइ छ ।

महिला संघको अधिवेशन गर्ने समय चैत मसान्तमा सकिइसकेको छ ।

उनीहरुले पहिलेदेखि नै संघलाई पारदर्शी बनाएर जिम्मेवारीपूर्वक अगाडि बढाउन माग गर्दै आएका थिए ।

यसअघि गम्भीर कदम चाल्न पार्टी सभापति देउवालाई ज्ञापन पत्र बुझाएका भए पनि उनीहरूको मागमा पार्टीले समेत कुनै चासो नराखेपछि बाध्य भएर राजीनामा दिएका हुन् । राजीनामा दिनहरुमा चन्द्रादेवी जोशी, रिता शाही, छायाँ सुनार, डा। अमिता प्रधान शाक्य, उमा शिवाकोटी, रञ्जिता गिरी, डा। सिता घिमिरे, तारा थपलिया, नवोदिता चौधरी, भगवती केसी, मिरादेवी चन्द, पार्वती चन्द, गिता गुरुङ, रमा अर्याल, लिलाकुमारी नेपाल, राधा कुँवर, सुनिशा भेटवाल र पार्वची आचार्यले पनि राजीनामा दिएका छन् ।

उनीहरुले विधिसम्मत रुपले अधिवेशन गर्न माग गरेका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार  २ : २६ बजे