२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

पूर्वी नाकाबाट चिया निर्यात बढ्यो,अलैँची र अदुवाको निर्यात घट्यो



भद्रपुर, झापा । देशको पूर्वी नाका काँकडभिट्टाबाट तयारी चिया निर्यातमा वृद्धि भएको छ ।

मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको १० महिनामा अघिल्लो वर्षको सोही अवधिको तुलनामा चिया निर्यातमा ४६।१० प्रतिशतले वृद्धि भएको छ ।

अलैँची, अदुवाजस्ता कृषि वस्तुको निर्यात भने अघिल्लो वर्षको तुलनामा घटेको मेची भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार चालु आ।व।को १० महिनामा रु तीन अर्ब ६८ करोड २२ लाख ४७ हजार मूल्य बराबरको १३ हजार ८८६।७७ मेट्रिक टन चिया निर्यात भएको छ । गत आ।व। को सोही अवधिमा रु। दुई अर्ब ५२ करोड १० लाख १४ हजार मूल्य बराबरको चिया निर्यात भएको थियो ।

यस्तै चालु आ।व।को वैशाख मसान्तसम्म अलैँची निर्यात ३।६० प्रतिशतले घटेको छ । यस अवधिमा रु। छ अर्ब ६६ करोड २५ लाख ४५ हजार मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आ।व। को सोही अवधिमा छ अर्ब ९० करोड ९४ लाख ४८ हजार मूल्य बराबरको अलैँची निर्यात भएको भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । यसैगरी, अदुवा निर्यातमा ५९।४० प्रतिशतले कमी आएको छ ।

कार्यालयका अनुसार यस अवधिमा भेनियर सिट ७९ प्रतिशत, फलामे पाता ७।७०, सिआरसिट ६२।२० प्रतिशत र मोलासिस निर्यातमा ८४४।३० प्रतिशतले वृद्धि भएको छ भने सिमेन्ट क्लिङ्कर ३।९० प्रतिशत, छुर्पी १६।२० प्रतिशत र अम्रिसो निर्यातमा १३ प्रतिशतले कमी आएको छ ।

मेची भन्सार नाकाबाट चालु आवको १० महिनामा रु २१ अर्ब ४५ करोड ९३ लाख २३ हजार मूल्य बराबरको मालवस्तु निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८२, शुक्रबार  ११ : ०३ बजे