१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता छैन, उहाँ संसदमा बोल्नुहुन्छ : कांग्रेस



काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्‍त्री रमेश लेखकको संलग्नता नरहेको नेपाली कांग्रेसले ठहर गरेको छ । बूढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आज बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नताबारे के कसो हो भन्ने बारे छलफल गरेको थियो। बैठकपछि बोल्दै कांग्रेसका प्रवक्ता डा प्रकाशरण महतले भिजिट भिसा प्रकरणमा गृहमन्‍त्री रमेश लेखकको संलग्नता नरहेको बताए ।
“गृहमन्त्रीजीमाथि जो आरोप लागेको छ, त्यसबारे संसद्‌भित्र र संसद्‌बाहिर स्पष्ट पार्न भनिएको छ,” नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले भने, “मिडिया र सामाजिक सञ्जालमा जो विषय आएको छ, त्यसका सम्बन्धमा उहाँले सविस्तार राख्नुभयो । उहाँको कुराबाट हामीले पूर्ण विश्वास गर्ने अवस्था बनेको छ ।”

महतले छानबिनबाट दोषी देखिएकाहरूलाई कारबाही हुनुपर्ने बताए । उनले भ्रष्टाचारी जो कोही भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।

“भ्रष्टाचार, हामीलाई स्वीकार्य छैन । भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउने हो,” महतले भने ।

सत्तारूढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा आएका विषयबारे स्पष्ट पार्न लेखकलाई निर्देशन समेत दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८२, सोमबार  १२ : १४ बजे