२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

अमेरिकाले कोभिड खोप ६५ वर्षमाथि र स्वास्थ्य समस्या भएकामा सीमित गर्ने



वासिङ्टन । अमेरिकी स्वास्थ्यमन्त्री रोबर्ट एफ केनेडी जुनियरले बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड–१९ विरुद्धको खोप सिफारिस नगर्ने घोषणा गरेका छन् ।

गत हप्ता खाद्य तथा औषधि प्रशासनका अधिकारीले महामारी अन्त्यका लागि महत्त्वपूर्ण उपकरणका रूपमा रहेको कोभिड खोपको स्वीकृति ६५ वर्ष वा सोभन्दा बढी उमेरका वयस्क र स्वास्थ्य समस्या भएका युवा व्यक्तिमा सीमित गर्ने घोषणा गरेपछि यो परिवर्तन गरिएको हो ।

ट्रम्प प्रशासनका अधिकारीहरूले यो परिवर्तनलाई बेलायत, जर्मनी र फ्रान्स जस्ता देशहरूसँग अमेरिकालाई नजिक ल्याउनको लागि तयार पारेका छन् । ती मुलुकहरूले वार्षिक ‘बुस्टर खोप’हरू केवल वृद्ध र रोग प्रतिरोधात्मक प्रणाली कमजोर भएका व्यक्तिका लागि मात्र सिफारिस गरिन्छ।

स्वास्थ्यमन्त्री केनेडीले संघीय जनस्वास्थ्य नीतिमा आमूल परिवर्तन गर्न दबाब दिइरहेका छन् । उनले खोप र विशेषगरी कोभिड खोपको बारेमा गलत सूचना फैलाएको आरोप लामो समयदेखि अमेरिकामा खेपिरहेका छन् ।

“आजसम्म स्वस्थ बालबालिका र स्वस्थ गर्भवती महिलाका लागि कोभिड खोप सीडीसी ९सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन०ले सिफारिस गरेको खोप तालिकाबाट हटाइएको छ र यो घोषणा गर्न पाउँदा म खुसी छु,” उनले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन् ।

एफडीएका अधिकारीहरूले खोप निर्माताहरूले ६५ वर्षभन्दा कम उमेरका स्वस्थ व्यक्तिहरूमा खोप प्रयोगका लागि स्वीकृति कायम राख्न चाहेमा नयाँ क्लिनिकल परीक्षणहरू सञ्चालन गर्नुपर्ने बताएका छन् ।रासस/एएफपी

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १० : ५० बजे