काठमाडौँ। गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन् । बुधबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकसँग प्रश्न गरेका थिए । जसमा समितिमा जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले सबै सांसदहरुले जवाफ नपाउने भएकाले संसदमै जवाफ दिने गरी व्यवस्था मिलाइदिन समिति सदस्यहरुसँग आग्रह गरे ।
त्रिभूुन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानबिन गरिहरेको छ । जसबारेमा गृहमन्त्री रमेश लेखक पनि संलग्न रहनुभएको अरोप लगाउँदै विपक्षी दलहरुले संसद अवरुद्ध पार्दै आएका छन् ।
मन्त्री लेखकले भने, ‘‘अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका केही साथीहरु, कर्मचारीहरु र केहीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरिरहेको छानविन र तत्सम्बन्धमा भइरहेको विषयमा जिज्ञासा राख्नुभयो । यो जिज्ञासा यो समितिका मात्रै साथीहरुलाई मात्रै भएको भए जवाफ दिएर जान्थेँ । यो अरु साथीहरुलाई पनि यो जिज्ञासा भएकाले मेरो प्रार्थना के छ भने हाउसमा बोल्न पाउँ, यो उठेका सबै प्रश्नको जवाफ दिन्छु ।’’
गृहमन्त्री लेखकले संसदमा जवाफ दिँदा सबै सदस्यहरुको प्रश्नको जवाफ आउने र संसदमा सबै प्रश्नको जवाफ दिने बताए ।
यसैगरी, उनले राजतन्त्र पक्षधर नेताहरुका लागि खटाइएका सुरक्षाकर्मी राजतन्त्रको पक्षमा आन्दोलन गर्न छोडेसँगै पुनः खटाइने बताए ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले राप्रपाका नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी किन फिर्ता बोलाइएको हो ? भन्दै प्रश्न गरे । सरकारले केही दिनअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसहितका राप्रपा नेताहरुको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएको थियो । उक्त प्रश्नको जवाफ दिनुहुँदै गृहमन्त्री लेखकले आन्दोलनमा सुरक्षा दिनुपर्ने भएकाले व्यक्तिगत सुरक्षार्थ खटिएका सुरक्षाकर्मीहरुलाई फिर्ता बोलाएर आन्दोलनमा खटाइएको र आन्दोलन रोक्ने वित्तिकै पुनः खटाइने स्पष्ट पारे ।
उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा अहिले रहेको भन्दै गणतन्त्र, सङ्घीयता, लोकतन्त्रबाट पछि फर्किने विषयले फेरि मुलुकलाई अन्धकारमा लैजाने बताए । संविधानका आधारभूत व्यवस्था उल्ट्याउने, संविधान फाल्ने काममा कोही पनि नलाग्न चेतावनी दिए । गृहमन्त्री लेखकले गणतन्त्र, संविधान फाल्न नमिल्ने र फाल्न नहुने बताए ।





