काठमाडौँ । प्रमुख प्रतिपक्ष नेकपा माओवादीले गृहमन्त्रीको राजीनामाबाट केही लचिलो देखिएर संसदीय वा न्यायिक समिति गठनको माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध खुलाउने बिषयमा दलहरुबीच सकारात्मक छलफल भएको बताएका छन्।
संसद भवनवाट बाहिरिने क्रममा अध्यक्ष प्रचण्डले निकास निकाल्नका लागि माओवादी मात्रै लचक भएर नपुग्ने भन्दै सरकार पनि लचिलो हुनुपर्ने धारणा राखे ।
उहाले भाषामा समझदारी बनेपछि छिटै सदन चल्ने उल्लेख गरे ।
सत्तारुढ दल नेकपा एमाले र कांग्रेस प्रमुख सचेतकले भने विपक्षी दलको माग अनुसार गृहमन्त्रीको राजीनामा र छानबिन समिति गठन गर्नेमा सहमत हुन नसकिने स्पष्ट पारे ।
सत्तापक्ष र प्रतिपक्ष दुवै पक्षको आ आफ्नै अडानले पटक पटक गरिएको प्रयास निष्कर्षविहीन बन्दै आएको छ । सभामुखले सहमतिका लागि पटक–पटक संसद् बैठक स्थगित गरेर छलफल चलाएपनि निकास नदिएकोमा असन्तुष्टि पनि जनाए ।
संसद् अवरोधका कारण आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ हुन नसकेको उल्लेख गर्दै उनले संवैधानिक सीमा र व्यवहारिक पक्षको ख्याल गर्न आग्रह गरे ।
यसैवीच, प्रमुख प्रतिपक्षी माओवादीले प्रतिपक्षी दलहरुका साथै सत्तापक्ष नेपाली काँग्रेससंग पनि छलफल गरेको छ । तर बैठकमा सत्तापक्ष नेपाली काँग्रेस लचिलो नभएको ब्रिफिङ भयो ।
त्यसपछि माओवादी र काँग्रेसको छुट्टै बैठक पनि बस्यो । तर दलहरुबीच सहमति बन्न नसक्दा प्रतिनिधि सभाको बैठक लगातार स्थगित हुँदै आएको छ ।





