१८ माघ २०८२, आइतबार | Sun Feb 1 2026

शक्ति पृथकीकरणको सिद्धान्त उल्लङ्घन हुन थाल्यो: प्रमुख सचेतक घिमिरे



काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन हुन थालेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको संघीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठकमा उनले यस्तो बताएका हुन् ।

एकार्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको उनले उल्लेख गरे । संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेको उनले बताए । कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको उनको भनाइ थियो ।

“शक्ति पृथकीकरणको सिद्धान्त आजकाल उल्लंघन हुन थालेको छ । एकले अर्काको अधिकार क्षेत्रभित्र प्रवेश गर्न थालेको छ,” उनले भने, “संसदीय अधिकार क्षेत्रभित्र न्यायालय प्रवेश गरेर कार्यपालिकाको अधिकार क्षेत्रभित्र पनि न्यायालय प्रवेश गरेको छ ।”

उनले न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भएको टिप्पणी गरे । एउटा फैसला गर्न २० वर्षसम्म लाग्ने स्थितिले न्याय नपाइने उनले बताए ।

“न्यायालयको न्याय प्रणाली असाध्यै ढिलो भयो । एउटा मुद्दा सर्वोच्चसम्म गएर फैसला हुँदा १५ देखि २० वर्षसम्म लाग्छ,” उनले भने, “२० वर्ष नै लाग्ने स्थिति हुँदा मान्छेले न्याय कसरी पाउँछ ?”

उनले अगाडि भने, “यसलाई कसरी छिटो छरितो गर्ने रु जिल्ला अदालतमा एक प्रकारको समयसीमा तोकिएको छ । तर, सबैभन्दा धेरै बेथिति भनेको सर्वोच्चमा छ । सर्वोच्चमा गएर वर्षौंसम्म एउटा मुद्दा गएर अड्किन्छ, त्यसलाई कसरी हटाउने रु”

प्रमुख सचेतक घिमिरेले संसद्मा बोलेका विषयमा कतै मुद्दा गर्न नपाइने र कारबाही पनि नहुने स्थिति रहेको बताए ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  १२ : ४७ बजे