११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब



वीरगञ्ज ९पर्सा०। चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा रु चार खर्ब ३४ अर्ब २६ करोड मूल्यबराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट रु ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ । त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा रु २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा रु पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।

त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा रु ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा रु ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ । भारत निर्यातको हिस्सा भने ९५ दशमलव ०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् रु दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ । त्यस्तै अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा रु ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  १० : १६ बजे