५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

पश्चिम नवलपरासीमा लम्पीस्किन संक्रमण फैलिँदै



नवलपरासी । बर्दघाट सुस्ता पश्चिम नवलपरासीमा ३४ पशुचौपायामा लम्पीस्किनको संक्रमण देखिएको छ । पछिल्लो समय खोप नलगाएका पशुमा संक्रमण देखिन थालेको हो ।

खोप नलगाएका पाडापाडी, बाच्छाबाच्छीमा लम्पीस्किनको संक्रमण देखा परेकाले संक्रमण फैलिने जोखिम बढेको नवलपरासी भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका कार्यालय प्रमुख श्रावणकुमार चौधरीले बताए ।

उनका अनुसार सुनवल, बर्दघाट, सुस्ता, प्रतापपुर र रामग्राममा लम्पीस्किन फैलिएको हो ।

संक्रमणग्रस्त क्षेत्रमा नियमित उपचार र निरीक्षण भइरहेको पशु सेवाविज्ञ केन्द्रका डा। विभूति सिंहले जानकारी दिइन् । यो रोगका कारण मर्ने पशुको संख्या कम भए पनि दूध उत्पादन घटेपछि किसान चिन्तित बनेका उनको भनाइ छ ।

लम्पीस्किनको संक्रमण पछिल्लो समय मुलुकभर देखा परेको बताउँदै उनले नवलपरासीमा गत असारदेखि लम्पीस्किनको संक्रमण देखा पर्न थालेको जानकारी दिइन् ।

उनका अनुसार पहिलो पटक बर्दघाटमा देखिएको लम्पीस्किनको संक्रमण अहिले जिल्लाका पाँचवटै स्थानीय तहमा फैलिएको छ ।

“लम्पीस्किन लागेका गाईभैँसीमा ज्वरो आउने र दानापानी कम खाने, दूध उत्पादन घट्ने, खुट्टा तथा जोर्नी सुनिने, नाक, मुख वरपर घाउ हुने, छालामा सानो गोलो गिर्खा देखिन सक्ने र गिर्खा फुटेर घाउ बनेमा औँसा पर्नसक्ने हुन्छ”, प्रमुख डा। चौधरीको भनाइ छ ।

विसं २०७७ असार १० गते मोरङको सुन्दरहरैचा नगरपालिका–११ का गाईमा लम्पीस्किनको लक्षण देखा परेको थियो । केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरमा ‘मलिकुलर’ विधिबाट परीक्षण गर्दा २०७७ साउन १२ गते लम्पीस्किन पुष्टि भएको हो ।

केन्द्रीय रिफरल पशु चिकित्सालय त्रिपुरेश्वरको तथ्यांक अनुसार ७६ जिल्लामा लम्पीस्किन फैलिएको छ भने यस रोगबाट पाँच लाख ५५ हजार पशु संक्रमित भएका छन् तीमध्ये २१ हजार पशुको मृत्यु भएको छ । रासस

प्रकाशित मिति : १ श्रावण २०८२, बिहिबार  २ : ०४ बजे