२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

यसरी उठाइँदैछ एक खर्ब १३ अर्ब आन्तरिक ऋण



काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले यही साउनदेखि आगामी असोजसम्म एक खर्ब १३ अर्ब बराबरको आन्तरिक ऋण उठाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार सो अवधिमा अवधिमा एक खर्ब १० अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्नेछ ।

कार्यतालिका अनुसार कार्यालयले १० अर्ब बराबरका तीन वर्षेदेखि ११ वर्षे अवधिका ११ वटा विकास ऋणपत्र बिक्री गर्नेछ । पाँच वर्षे रु दुई अर्ब ५० करोडको नागरिक बचतपत्र ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमास अर्थात् कात्तिकदेखि पुससम्ममा ८५ अर्ब आन्तरिक ऋण उठाउने कार्यतालिका छ ।

ट्रेजरी बिलमार्फत २५ अर्ब तथा विकास ऋणपत्रमार्फत ६० अर्ब उठाइनेछ । उक्त अवधिमा पाँच अर्ब बराबरको २८ दिनेदेखि एकवर्षे अवधिको पाँचवटा ट्रेजरी बिल बिक्री गरिनेछ ।

१० अर्ब बराबरका तीन वर्षेदेखि १० वर्षे अवधिका ६ वटा विकास ऋणपत्र बिक्री गरिनेछ ।

कार्यतालिका अनुसार, आगामी माघदेखि चैतसम्ममा एक खर्ब नौ अर्ब आन्तरिक ऋण उठाइनेछ । सो समयमा ट्रेजरी बिलमार्फत ५० अर्ब तथा विकास ऋणपत्रमार्फत ५६ अर्ब उठाइनेछ ।

पाँच वर्षे अवधिको दुई अर्ब ५० करोडको नागरिक बचतपत्र तथा ५० करोडको वैदेशिक रोजगार बचतपत्र बिक्री गरिनेछ ।

कार्यतालिकाअनुसार आगामी वैशाखदेखि असारसम्ममा रु ५५ अर्ब आन्तरिक ऋण उठाइनेछ ।

उक्त अवधिमा पाँच अर्ब बराबरका ११ वटा ट्रेजरी बिलमार्फत ५५ अर्ब उठाइनेछ । सरकारले गत जेठ १५ गते नै चालु आर्थिक वर्षका लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । जसमा चालुतर्फ रु ११ खर्ब ८० अर्ब ५८ करोड, पुँजीगततर्फ रु चार खर्ब ७ अर्ब ६९ करोड र वित्त व्यवस्थापनमा तीन खर्ब ७५ अर्ब २४ करोड विनियोजन गरिएको छ ।

बजेटमा स्रोतका रूपमा राजस्वबाट १३ खर्ब १५ अर्ब, आन्तरिक ऋणबाट रु तीन खर्ब ६२ अर्ब, बाह्य ऋणबाट दुई खर्ब ३३ अर्ब र अनुदानबाट ५३ अर्ब जुटाउने उल्लेख छ ।

बजेटमा व्यवस्था भएअनुसार कार्यालयले आन्तरिक ऋण उठाउनका लागि विकास ऋणापत्र, टे«जरी बिल र वैदेशिक रोजगार वचतपत्र बिक्रीको कार्यतालिका सार्वजनिक गरेको हो । रासस

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १० : २५ बजे