५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीनजनाको मृत्यु



रौतहट । रौतहटमा खेतमा धान रोप्न पानी लगाउने क्रममा करेन्ट लागेर एक सातामा तीनजनाको मृत्यु भएको छ । बुधबार ९साउन ७० मात्र धान रोप्न पानी लगाउने क्रममा मोटर चलाउँदा करेन्ट लागेर दुईजनाको ज्यान गएको हो ।

बुधबार बिहान खेतमा सिँचाइका निम्ति विद्युतीय मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर माधव नारायण नगरपालिका–४, बिसनपुर्वा मानपुरका ४० वर्षीय रामबाबु मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका डीएसपी राजन कार्कीले जानकारी दिए । सिँचाइ गर्न जडित मोटरको तारबाट करेन्ट लागी घाइते भएका मुखियाको उपचारका क्रममा प्रादेशिक अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै, खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर कटहरिया नगरपालिका–२, जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको मृत्यु भएको उनले जानकारी दिए । करेन्ट लागी घाइते भएका देवानको उपचारका क्रममा गरुडास्थित ग्रान्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसअघि, गएको असार ३१ गते खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मौलापुर नगरपालिका–८, सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेलको मृत्यु भएको थियो ।

यो वर्ष तराईमा खडेरीका कारण किसानले मोटरबाट पानी तानेर रोपाइँ गर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति : ८ श्रावण २०८२, बिहिबार  ९ : ५७ बजे