काठमाडौं । बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको बिषय बाहिर आएपछि यस बिषय संसदमा प्रवेश गरेको छ । नेकपा एमालेकी सांसद सुनीता बरालले बहुविवाह असामाजिक र गैरकानुनी विषय भएको भन्दै कानुन मन्त्रालय र मन्त्रीको जवाफ माग गरेकी छन् ।आज प्रतिनिधिसभा बैठकको विषेश समयमा उनले बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको भन्दै प्रकाशित समाचारले समाजलाई उद्धेृलित पारिरहेको बताइन् ।
उनले भनिन्,“केही दिनयता विभिन्न सञ्चारमाध्यममा विभिन्न समुदाय, संस्था र व्यक्तिहरूमा बहस भइरहेको विषय । अपराध संहितासँग जोडिएर कानुन निर्माण भइरहेको र त्यहाँ बहुविवाहलाई स्वीकृति प्रदान गर्ने आशयको सन्देश प्रवाह भइरहेको छ,” एमाले सचेतक समेत रहेकी बरालले भनिन्, “जुन कुरा के हो भन्ने कुरा सामाजिक रूपमा हरेक व्यक्तिको चिन्ता, चासो र सरोकारको विषय भइरहेको छ ।”
उनले थपिन्, “कानुनी रूपमा असाध्यै संवेदनशील र मानवीय रूपमा असाध्यै गाम्भीर्य विषयहरूमा कानुनको संशोधन हुँदा, निर्माण हुँदा र कानुन निर्माणका प्रक्रियामा अगाडि बढ्दा संवेदनशील हुन र सामाजिक रूपमा उठेका यस्ता विषयमा ध्यानाकर्षण गराउँदै अहिले उठिरहेको बहुविवाहको विषय के हो र यति गम्भीर विषयहरू कसरी बाहिर आए कानुनमन्त्रीलाई जवाफ दिन अनुरोध गर्दछु ।”
बहुविवाहलाई मान्यता दिने गरी कानुन संशोधन गर्न लागिएको भन्दै महिला अधिकारकर्मी, महिला संगठनहरुले बिरोध गरिरहेका छन् ।





