५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

निःशुल्क बिमा कार्यक्रमबाट सेवाग्राही वञ्चित



आर्थिक वर्ष ८२/८३ मा कर्णाली प्रदेश सरकारले सुरु गरेको घर बिमा कार्यक्रम अन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिकामा नगरवासीको आवासीय घरहरूको निःशुल्क बिमा कार्यक्रमबाट सेवाग्राहीहरु वञ्चित भएका छन् ।

गएको आर्थिक वर्षमा नगरका वडा स्तरीय कर्मचारीहरुले समयमै घर बिमा कार्यक्रमको काम सम्पादन गर्ननसक्दा यो सुविधा पाउनबाट वञ्चित भएका हुन्।

कर्णाली प्रदेशले प्राकृतिक विपदबाट हुने क्षति र जोखिमलाई दृष्टिगत गर्ने उद्येश्यले घर बिमा कार्यविधि अनुसार गएको आर्थिक वर्षमा छायाँनाथ रारा नगरपालिकाले चार हजार ९ सय घरधुरी बिमा गर्नुपर्नेमा एक हजार ३ सय ११ वटा घर बिमित भएको छायाँनाथ रारा नगरपालिकाका योजना प्रमुख कर्णराज भामले जानकारी दिए ।

प्रदेशको निःशुल्क घर बिमा कार्यविधि अनुसार नगरपालिकाले व्यावसायिक प्रयोजन बाहेकका सबै आवासीय घरहरूको अधिकतम २० लाख रुपियाँसम्मको बिमा रहेको बताए।

प्रदेशको घर बिमा कार्यक्रममा मुगुका चार स्थानीय तहहरुमध्ये छायाँनाथ रारा नगरपालिका मात्र छनोट भएको छ । जिल्लाको छायाँनाथ रारा नगरपालिका १ देखि १४ वडासम्मका चार हजार घरको बिमा कार्यक्रम कार्यान्वयन गर्ने जिम्मा पाएको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड ९सलिको० शाखा मुगुका प्रमुख मीन बहादुर मल्लका अनुसार छायाँनाथ रारा नगरपालिकाका सम्बन्धित वडाका प्राविधिकको सहजिकरणमा वडा नं १,२,४,१०,१३ र १४ वडासम्म बिमा घर सर्वेक्षण गरि एक हजार ३ सय ११ घर बिमित भएका छन् ।

कर्णाली प्रदेश र घर बिमा कार्यक्रम कार्यान्वयन गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सबिच सम्झौता भएअनुसार गएको आर्थिक वर्ष असार महिनाको तेस्रो साताभित्र नगर भित्रका वडा नं १ देखि १४ वडा सम्मका सम्पूर्ण घरधुरीहरुको विवरण सङ्कलन गरि इन्स्योरेन्स कम्पनीलाई बुझाई सक्नुपर्ने भनि छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सबै वडाध्यक्ष त्यसैगरी कर्मचारीको उपस्थितिमा जेठ २० गते एक दिने कार्यक्रम इन्स्योरेन्स कम्पनीले उक्त कार्यक्रम आयोजना गरेको थियो ।

नगरका सम्बन्धित वडाका प्रविधिकले उक्त समय अवधिभित्र बिमा घरधुरीहरुको तथ्याङ्क नदिँदा वडा नं ५,६,७,८,९,११ र १२ वडा सम्मका घरधुरीहरु छुटेको कम्पनीले जानकारी दिएको छ ।

पक्की, परम्परागत, काठ, ढुङ्गामाटो, पराल आदि प्रयोग गरेर बनाइएका आवासीय घरहरूको बिमा गरिने छ । व्यावसायिक प्रयोजनका भवनहरू भने यसबाट बाहिर रहने छन् । यसैगरी बसोवास गर्दै आएका चार किल्ला छुट्याएर घर बिमामा समावेश गरिने शाखा प्रमुख मल्लले बताए ।

घर बिमा कार्यविधि अनुसार भूकम्प, आगलागी, बाढी, डुबान, हावाहुरी, जमिन भासिने, चट्याङ, विस्फोटन र हुलदङ्गाजस्ता ९ प्रकारका प्राकृतिक तथा अप्रत्याशित विपद्बाट क्षति पुगेमा बिमाबाट क्षतिपूर्ति दिइने व्यवस्था छ रहेको छ ।

छायाँनाथ रारा नगरपालिका(१० चराप गाउँमा अविरल वर्षाका कारणले साउन १४ गते राती दश वटा घरहरु बाढीले पूर्णरुपमा क्षति पुर्‍याएको स्थानीय बाढी पीडित राजेन्द्र ऐडीले बताउनुभयो । सम्बन्धित निकायले मेरो गाउँमा बिमा सङ्कलन नगर्दा आज यो सुविधा लिनबाट वञ्चित भएको गुनासो उनले गरे।

यता छायाँनाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य प्रसाद गौतमका अनुसार असार मसान्तको समयले गर्दा कर्मचारीहरुलाई योजना मुल्याङ्कन गर्नमा व्यस्त भएकाले नगरका धेरैजसो वडाहरु घर बिमा गर्नमा छुटेको प्रतिक्रया दिए । बिमाबाट छुटेका घरहरुलाई पुन घर बिमा कार्यक्रम कार्यान्वयन गर्नलाई भदौ महिना भित्र संकलन गरि बिमित गर्ने उनले बताए ।

कार्यविधिअनुसार एक घरधुरीको एक घरको बिमा शुल्क प्रदेश सरकारले नै भुक्तानी गर्नेछ । यदि बिमाङ्क २० लाख रुपियाँभन्दा बढी छ वा एउटै परिवारका एकभन्दा बढी घर छन् भने त्यसको अतिरिक्त शुल्क घरधनीले आफैं बेहोर्नुपर्ने छ ।

प्रकाशित मिति : २४ श्रावण २०८२, शनिबार  ११ : ४१ बजे