काठमाडौं । नेपाली कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभामा महिला समन्वय समिति किन नबनेको भनेर सभामुखलाई प्रश्न गरेकी छन् ।
‘के महिला भएकै कारणले यहाँ पनि विभेद सहनुपरेको हो हामीले ? उनले भनिन, , यसको जवाफ के हो ? हामी बाहिर सोध्ने कुरा भएन, सभामुख मार्फत नै चाहन्छु ।’
यथाशीघ्र महिला समन्वय समिति गठन गर्न उनले सभामुखसँग आग्रह समेत गरेकी छन् ।
प्रतिनिधिसभा नियमावलीको नियम २५७ मा महिला समन्वय समितिसम्बन्धी व्यवस्था छ । जहाँ भनिएको छ, ‘महिलाका विषयमा सभामा समान धारणा बनाउन तथा त्यस्ता धारणालाई बहस पैरवीमा ल्याउन महिला सदस्य संयोजक रहने गरी एक समिति रहनेछ।’
तर, प्रतिनिधिसभाको चालु कार्यकालको आधा समय सकिँदा समेत महिला ककस बन्न सकेको छैन ।
आम महिला सांसदको मुद्दासँग जोडिएको विषयमा बहस र पैरवी गर्न बनाउने भनिएको महिला समन्वय समिति बन्न नसकेपछि संसद्मा कतिपय सांसदहरूले प्रश्न उठाउँदै आएका छन् ।
प्रतिनिधिसभा नियमावली बनाउने क्रममा यो समितिको संयोजकमा सभामुख र उपसभामुखमध्ये जो महिला छ, उही हुने प्रस्ताव थियो । तर दलहरूले इकाइको सट्टा महिला समन्वय समिति राख्ने र संयोजकमा कुनै महिला सांसदलाई नै तोक्नुपर्ने तर्क गरेपछि सोहीअनुसारको व्यवस्था नियमावलीमा राखिएको थियो ।
यस्तो समितिमा रहने सदस्यलाई थप सेवा(सुविधा नदिने भनिएको छ । प्रतिनिधिसभा नियमावलीको नियम २५७ मै भनिएको छ, ‘समितिका पदाधिकारी र सदस्यलाई थप सेवा(सुविधा उपलब्ध गराइने छैन ।’
महिलाको समिति बनाउने बिषय यस अघि पनि महिला सांसदहरुले उठाएतापनि सम्बोधन हुन सकेको छैन ।





