५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

बैतडीको डोल गाउँमा २०१८ सालदेखि खसिरहेछ पहिरो



बैतडी- हरेक वर्षातमा झैँ यहाँको दोगडाकेदार गाउँपालिका–६ डोलबासी यसपाली पनि पहिरोकै चिन्तामा छन्। २०१८ साल देखि खस्ने थालेको पहिरोले अहिलेसम्म गाउँलेलाई चैनले सुत्न दिएको छैन।

हरेक वर्ष वर्खामा खस्ने पहिरोले यो वर्ष पनि चिन्ता बढेको स्थानीय लोगसिंह भाटले बताए।

‘वर्षात सुरु भएदेखि राति निदाउनसमेत डर लाग्ने गरेको छ,’ उनले भने, ‘पहिरोले चारैतिर जमिन बगाइसकेको छ। बस्ती जोखिममा छ। अन्त सरौं भने आर्थिक अवस्था पनि कमजोर छ। जोखिम मोलेर बसिरहेका छौं।’

यहाँका धेरैले बसाइसराइ सरिसकेका छन्। पहिरोले घर तथा जमिन बगाएपछि अधिकांश बसाइ सरेका स्थानीय रामदत्त जोशीले बताए।

आर्थिक अवस्था कमजोर भएका २० परिवार मात्रै अहिले यहाँ बसोबास गर्छन्।

स्थानीय भोजराज जोशीले भने, ‘२०१८ साल कै पहिराले हाम्रो गाउँका हरेक घर बांगा छन्। भित्रभित्रै जमिन भासिएपछि घरहरू बांग भएका हुन्। पहिरोको जोखिममै बस्नु परिरहेको छ।’

डोल पहिरोले हालसम्म नौ जनाको ज्यान लिइसकेको छभने दुई सय बढी रोपनी खेतीयोग्य जमिन बगाइसकेको छ।

पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालीन राजा वीरेन्द्रले हुकुम प्रमांगी दिएका स्थानीय बुढापाका बताउँछन्। तर राजनीतिक खिचातानी भएपछि अन्यत्र बसाइ सर्ने सपना अधुरै रह्यो। आर्थिक अवस्था सबल भएका सबैले तराईतिर जमिन किनेर उतै गइसकेका छन्। तर गरिब र दलित समुदाय भने जोखिममै बस्न बाध्य छन्।

पहिरोले प्रत्येक वर्ष खानेपानीको मुहान बगाउँदै आएको छ। त्यसपछि धमिलो पानी प्रयोग गर्न बाध्य हुने गरेको स्थानीय बहादुर भुलले बताए। डोलबस्ती स्थानान्तरणका लागि कुनै पहल हुन सकेको छैन। यहाँको बस्ती स्थानान्तरण नै उपयुक्त विकल्प हुने स्थानीयवासीको भनाइ छ।

प्रकाशित मिति : २ भदौ २०८२, सोमबार  १० : २७ बजे