काठमाडौं । भृकुटीमण्डपमा मंगलबारदेखि सुरू भएको १७औँ नाडा शोमा विभिन्न आठ वाणिज्य बैंकहरुले सहभागिता जनाएका छन् । ती बैंकहरुबीच कम ब्याजदरमा अटो लोन दिने प्रतिस्पर्धा चलेको छ । अटो शोलाई लक्षित गरी विभिन्न अटो लोन सार्वजनिक गरेका छन् । आठ वाणिज्य बैंकहरु मध्ये सबैभन्दा सस्तो ब्याजदरमा लोन दिने बैंकको रुपमा सरकारी स्तरको बैंक कृषि बिकास बैंक देखिएको छ । जसले ६.२३ प्रतिशत ब्याजदरमा अटो लोन दिने अफर राखेको छ । बैंकले नाडा अवधिभर सेवा शुल्कमा ३३ प्रतिशत छुट दिएको जनाएको छ ।
नबिल बैंकले आधारदर (बेसरेट) मा एक प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ । यस्तैगरी हिमालयन बैंकले साढे ७ प्रतिशत ब्याजमा ईभी गाडी खरिदका लागि ऋण दिने भएको छ ।
एनएमबी बैंकले सात वर्ष अवधिका लागि फिक्स्ड ब्याजदरमा ८.८९ प्रतिशत र फ्लोटिङ दरमा साढे सात प्रतिशत ब्याजदर निर्धारण गरेको छ । अटो लोनका निम्ति आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको बैंकले जानकारी दिएको छ । यस्तै लक्ष्मी सनराइज बैंकले बेस रेटमा एक प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । ग्लोबल आइएमई बैंकले न्यूनतम ६.९९ देखि ८.२५ प्रतिशत ब्याजमा अटोलोन दिने भएको छ । यसैगरी सानिमा बैंकले पनि पाँच वर्षका लागि ७.९९ र सात वर्षमा ८.१५ प्रतिशत ब्याजमा अटो लोन दिने बताएको छ । नेपाल एसबीआई बैंकले आधारदरमा ०.७० प्रतिशत प्रिमियम थपेर अटो लोन दिने भएको छ । शोमा ३० भन्दा बढी स्टलहरु राखिएका छन् । प्रदर्शनी भदौ ८ गतेसम्म चल्नेछ ।
४ भदौ २०८२, बुधबार
14
Shares





