४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

ठेक्का अनियमिततामा विशेष अदालतमा आरोपपत्र दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको भेरी नगरपालिकामा ठेक्का प्रक्रियामा अनियमितता गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आरोपपत्र अनुसार, भेरी नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दल बहादुर घर्ती, इन्जिनियर मोहन मल्ल, कानून अधिकृत प्रकाश कुमार शाही, सामाजिक विकास अधिकृत अनिस साह, लेखापाल राजेन्द्रबहादुर कठायत र जिन्सी शाखा प्रमुख तथा नायब सुब्बा कृति बहादुर थापाले जनही रु। ३६ लाख २० हजार ५७८.१० बराबरको हिनामिना तथा दुरुपयोग गर्ने कार्यमा संलग्न भएको देखिएको छ।

त्यस्तै, ठेक्का सम्झौतामा संलग्न कम्पनी न्यु बिकेरनहकुली जेभीका संयुक्त उद्यमका साझेदार न्यु बिके बिल्डर्स एण्ड सप्लायर्सकी प्रोप्राइटर गंगा कुमारी खड्का र नहकुली निर्माण सेवाका प्रोप्राइटर चित्र बहादुर बोहरासमेतले रु. ३६ लाख २० हजार ५७८।१० बराबरको गैरकानूनी लाभ लिएको अभियोग लगाइएको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार भेरी नगरपालिकाले आ.व। २०८०र८१ मा वडा नं। ६, ९ र १० का वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्दा सार्वजनिक खरिद नियमावली विपरीत काम भएको पाइएको छ।

अनुसन्धानमा मूल्याङ्कन प्रक्रियामा बद्नियतपूर्ण ढंगले बोलपत्रदाता कम्पनीहरूलाई अनुत्तीर्ण गराइएको, कानूनी प्रावधान विपरीत खारेज भएको प्रावधान राखी बोलपत्र आह्वान गरिएको तथा प्रतिस्पर्धी कम्पनीलाई जानाजानी असफल बनाइएको देखिएको अख्तियारले जनाएको छ।

प्रकाशित मिति : १२ भदौ २०८२, बिहिबार  ५ : २४ बजे