४ चैत्र २०८२, बुधबार | Thu Mar 19 2026

निषेधाज्ञा र कर्फ्यु आदेश जारी



काठमाडौँ। नेपाली सेनाले आज बेलुकी ५ बजे सम्म देशभर निषेधाज्ञा जारी रहने र त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजे सम्म कर्फ्यु लागू हुने जनाएको छ। परिस्थिति अनुसार थप निर्णय हुने सेनाले स्पष्ट गरेको छ।

सेनाले अपिल जारी गर्दै आन्दोलनको नाममा अराजक समूहले घुसपैठ गरी तोडफोड, आगजनी, लुटपाट, व्यक्ति लक्षित आक्रमण तथा बलात्कार प्रयासजस्ता गतिविधि गरिरहेको वा गर्नसक्ने सम्भावना रहेको जनाएको छ। यसलाई दण्डनीय अपराध मानिने र सुरक्षाकर्मीबाट कडा कारबाही हुने चेतावनी दिइएको छ।

सेनाले जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अपराध नियन्त्रणका प्रयासमा सहयोग गर्न सबैमा आग्रह गरेको छ। निषेधाज्ञा र कर्फ्यु अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन मात्र सञ्चालनमा रहनेछन्।

साथै, अफवाहमा नलागी आधिकारिक सूचनामा मात्र विश्वास गर्न नागरिकलाई आग्रह गर्दै राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सेनाले आह्वान गरेको छ।

प्रकाशित मिति : २५ भदौ २०८२, बुधबार  १० : ०५ बजे