१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

कांग्रेसमा विशेष महाधिवेशन बोलाउने पक्षमा मत बलियो



काठमाडौं । जेन–जी आन्दोलनपछिको देशको सबैभन्दा ठूलो दल नेपाली कांग्रेससभित्र नेतृत्व परिवर्तनको माग बढ्दै गएको छ ।
सभापति शेरबहादुर देउवालाई बिदा गरेर नयाँ नेतृत्व छनौटका लागि कांग्रेसका ठूलो संख्याका महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउन माग गरेका छन्। कांग्रेसमा विशेष महाधिवेशन बोलाउने पक्षमा मत बलियो देखिएको छ ।
महाधिवेशन प्रतिनिधिहरूले साझा विज्ञप्ति जारी गरेर भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा तत्कालीन सरकारले गरेको दमनको पनि निन्दा गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूले पार्टी विधानको धारा (७२) बमोजिम विशेष महाधिवेशन प्रक्रियामा जाने निर्णय गरेको उल्लेख गर्दै सबै कार्यकर्तालाई अभियानमा सहभागी हुन आग्रह गरेका छन्।

‘वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकार समेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन् गर्ने सम्भावना क्षीण वन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिहरूमा रहेको वैधानिक अधिकारको उपयोग गर्दै तयारीमा लाग्ने संकल्प लिएका छौँ’, उनीहरूले भनेका छन्, ‘यो पार्टीलाई यथास्थितिमा राखे कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो। आजको विषम परिस्थिति र संकटबाट कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो। इतिहासको यस संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकालेर समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेष महाधिवेशनको प्रक्रियामा सामेल हुन आग्रह गर्दछौँ ।’

विशेष महाधिवेशन माग्दै यसरी वक्तव्य निकाल्ने नेताहरूमा गुरुराज घिमिरे, जनकराज गिरी, रामपल्टन साह, सुरज काप्ले, मेदनी सिटौला, प्रविण ओझा, दिक्पाल शाही, युवराज पाण्डे, टीका गुरुङ, कृष्ण रिजाल, ऋषिकेश तिवारी, युवराज भट्टराई, बीरबहादुर राना, सुरेन्द्रराज आचार्य, मुकेश घिमिरे, देवराज चालिसे, तारानाथ दाहाल, विनोद खनाल, रुद्र कन्दङ्वा, कुमार लुइँटेललगयत महाधिवेशन प्रतिनिधिहरू छन्।

कांग्रेस नेताहरूले विशेष महाधिवेशनमार्फत् पार्टीलाई वर्तमान संकटबाट निकाल्ने र समयसापेक्ष, लोकप्रिय तथा सुदृढ बनाउनै पर्नेमा जोड दिएका छन्।

CamScanner 22-09-2025 16.46

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहिबार  १२ : २० बजे