२० मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

गाडीको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु



सर्लाही । सर्लाहीमा स्कारपियोको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु भएको छ ।  अर्का एकजना गम्भीर घाइते भएका छन् । 

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र ब्रह्मपुरी गाउँपालिका–५, स्थित हुलाकी सडकखण्डमा शुक्रबार राति उक्त दुर्घटना भएको हो । दुर्घटनामा प्रदेश ३–०३–००१ प ७५७५ नम्बरको मोटरसाइकलमा सवार ब्रह्मपुरी गाउँपालिका–२, बस्ने २३ वर्षका अंकित चौधरी र २५ वर्षका रोहित सहनीको मृत्यु भएको हो । २३ वर्षका शिवशंकर पण्डित गम्भीर घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते पण्डितको एलएस न्यूरो अस्पताल बारामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए । 

हुलाकी सडक हुँदै पर्साबाट भेल्ही आउँदै गरेको एमएच ०४ डिजे १२९७ भारतीय नम्बर भएको स्कारपियोले विपरीत दिशाबाट जाँदै गरेको तीनजना सवार ७५७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

दुर्घटनामा गम्भीर घाइते भएका चौधरी र सहनीलाई रामजानकी अस्पताल जनकपुर पु¥याएपछि चिकित्सकले मृत घोषणा गरेका थए । 

प्रहरीले दुर्घटनामा संलग्न स्कारपियो र मोटरसाइकल नियन्त्रणमा लिएको छ । घटनालगत्तै फरार स्कारपियो चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । रासस

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार  १२ : ०१ बजे