१८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026

मौसमी अवस्थालाई ख्याल गर्दै काठमाडौं उपत्यका सवारी भित्रन र बाहिरिन तीन दिन बन्द



काठमाडौं । लामो दूरीका तथा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत तीन दिनको लागि बन्द गरिएको छ । बाढी र पहिरोको पूर्वानुमान रहेकाले काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत बन्द गरिएको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार असोज १८ देखि २० गतेसम्म भारीदेखि अति धेरै भारी वर्षा हुनसक्ने सम्भावना रहेको भन्दै सवारी साधन आवतजावत बन्द गरिएको बताएको छ ।

“भारी वर्षा तथा अति धेरै भारी वर्षाका कारण आउनसक्ने बाढी, पहिरो र डुबान एवं त्यसबाट उत्पन्न हुनसक्ने सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका सबै जिल्लाबाट चल्ने लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन आवतजावत असोज १८, १९ र २० गतेका लागि बन्द गरिएको छ,” प्राधिकरणले भनेको छ ।

यस अवधिमा यातायात व्यवसायीलगायत कसैले पनि अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौं उपत्यका भित्रिने र बाहिरिने सवारी साधन नचलाउन, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायले सवारीसाधन आवतजावत बन्द गर्न प्राधिकरणले आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ आश्विन २०८२, शनिबार  ९ : ४८ बजे